- रिता घिमिरे
बुद्धको देश नेपाल,
अहिंसाप्रतिको विशेष पहिचान बोकेका हामी नेपाली ।
तर अहिंसा केवल कसैलाई नमार्नु मात्र होइन ,
हरेक जीवनको सम्मान गर्दै बाँच्नु हो ।
म बाँचिरहँदा मेरो बाँचाइका कारण
अर्को कुनै जीवन नहराओस् ।
मेरो जीवनलाई पोषण दिँदै गर्दा
मेरो हृदयमा रहेको करुणा नमरोस् ।
मेरो जीवनशैली मेरो हरेक दिनको थालीले निर्धारण गर्छ ।
मेरो रोजाइको थालीले केवल
मेरो शरीर बनाउँदैन त्यसले मेरो सोचलाई पनि छुन्छ ।
मेरो भोजनबाट सोच जन्मिन्छ, त्यही सोच नै बानी बन्छ,
बानीबाट व्यवहार प्रकट हुन्छ,
र मेरो व्यवहारबाट मेरो कर्म बन्छ ।
त्यसैले मेरो थाली केवल भोक मेटाउने ठाउँ होइन,
यो मेरो चेतना निर्माण गर्ने पहिलो स्थान हो।
यदि मेरो भोजनमा करुणा छ भने,
मेरो सोचमा करुणा पलाउन सक्छ ।
यदि मेरो सोचमा करुणा छ भने,
मेरो व्यवहारमा अहिंसा देखिन सक्छ।
र जब अहिंसा मेरो कर्म बन्छ,
त्यही कर्मले मेरो जीवनको परिचय दिन्छ ।
मेरो पहिचानसमेत निर्माण गर्छ ।
अहिंसा एउटा दिनको कुरा होइन,
हरेक दिन बाँच्ने सुन्दर बाटो हो ।
त्यसैले, अहिंसाको मार्ग रोजौँ,
मुस्कानसँगै खुसीको बाटोमा सँगसँगै हिँडौँ ।
– रिता घिमिरे















