काठमाडौँ —सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा अशोज १२ गते सोमवारका दिन आम्रपाली बैङ्क्वेटमा शेयरधनीहरुको बाक्लो उपस्थितिमा भब्य रुपमा सम्पन्न भएको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतको वृद्धि भएको जानकारी दिनु भयो ।
चौतर्फी आर्थिक चुनौतीहरूका बाबजुद सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट वित्तीय कार्यसम्पादन गर्दै सफलता हासिल गरेको छ। बैंकको २२औँ वार्षिक साधारणसभामा प्रस्तुत अध्यक्ष तुक प्रसाद पौडेलको वक्तव्य अनुसार बैंकले निक्षेप, कर्जा लगानी तथा खुद मुनाफामा उच्च वृद्धि गरेको हो।
मुख्य उपलब्धि तथा सकारात्मक सुचकहरू:
- निक्षेप र कर्जामा बलियो वृद्धि: बैंकको कुल निक्षेप गत वर्षको तुलनामा १०.८४ प्रतिशतले बढेर रु २ खर्ब ४९ अरब ९३ करोड पुगेको छ। त्यसैगरी खुद कर्जा लगानी ११.१९ प्रतिशतले वृद्धि भई रु २ खर्ब ३ अरब ९९ करोड पुगेको छ।
- मुनाफामा उच्च वृद्धि र आकर्षक लाभांश: प्रभावकारी कर्जा असुली तथा कुशल व्यवस्थापनका कारण बैंकको खुद मुनाफामा ३८.०१ प्रतिशतको उल्लेख्य वृद्धि भएको छ। यसै सफलतालाई मध्यनजर गर्दै बैंकले सेयरधनीहरूलाई २०.८६ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ र १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
- निष्क्रिय कर्जामा नियन्त्रण: समग्र बैंकिङ क्षेत्रमा निष्कृय कर्जा बढीरहेको अवस्थामा पनि सानिमा बैंकले आफ्नो खराब कर्जाको अनुपात घटाउन सफलता प्राप्त गरेको छ।
- सामाजिक उत्तरदायित्वमा अग्रसरता: बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत बाढी प्रभावित रसुवा र नुवाकोट क्षेत्रका पीडितहरूलाई सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २ करोड २५ लाख जम्मा गरेको छ।
- दिगो विकास र डिजिटलाइजेशन: जलविद्युत र विपन्न वर्गलाई लक्षित गरी लगानी विस्तार गरिरहेको बैंकले ग्राहक मैत्री digital services तथा सबल जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राखेर अघि बढ्ने रणनीति तय गरेको छ।
चुस्त व्यवस्थापन, संस्थागत सुशासन र ग्राहक सेवामा थप सुदृढीकरण गर्दै आगामी दिनमा बैंकलाई अझ सबल र प्रतिस्पर्धी बनाउन बैंक प्रतिबद्ध रहेको कुरा अध्यक्ष पौडेलले व्यक्त गर्नुभएको छ।














