काठमाडौँ। असोज ८ गतेदेखि परेको निरन्तरको हावाहुरी, भारी वर्षा र देशका विभिन्न स्थानमा गएको बाढी-पहिरोका कारण दूरसञ्चार सेवा अवरुद्ध हुन पुगेको छ।
सडक मार्गमा आएको पहिरोले यात्रामा पुर्याएको कठिनाइ, अप्टिकल फाइबरमा भएको क्षति तथा विद्युत् आपूर्तिमा आएको अवरोधका कारण सेवा सञ्चालनमा समस्या आएको हो। साथै, निरन्तरको वर्षा, हिमपात र बादलका कारण सोलारमा आधारित साइटहरूको कार्यक्षमता घटेकाले पनि सेवा निरन्तरतामा असर परेको कम्पनीले जनाएको छ।
हाल प्राविधिक रूपमा सिस्टमबाटै समाधान गर्न सकिने मर्मतका कामहरू र पहुँचयोग्य स्थानहरूमा स्थलगत मर्मत कार्य निरन्तर भइरहेको छ। मौसममा सुधार आउनासाथ अन्य प्रभावित क्षेत्रमा खटिनका लागि प्राविधिक टोलीलाई तयारी अवस्थामा राखिएको छ।
सेवामा आएको अवरोधबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमा याचना गर्दै यस कठिन परिस्थितिमा देखाएको धैर्यताका लागि धन्यवाद ज्ञापन गरेको छ।















