असाेज ११ , काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आफ्ना दिवङ्गत पितृको सम्झना तथा सम्मानमा गर्ने सोह्रश्राद्ध आजदेखि सुरु भएको छ। भाद्र शुक्ल पूर्णिमादेखि सुरु हुने पितृपक्ष अर्थात् सोह्रश्राद्धका क्रममा दिवङ्गत आफन्तको सम्झनामा विभिन्न धार्मिक विधिअनुसार श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने गरिन्छ।
पितृपक्षका अवसरमा आफ्ना दिवङ्गत बुबा, आमा, बाजे, बज्यै तथा अन्य आफन्तको सम्झना दिवंगत भएकाे तिथि अनुसार श्रद्धापूर्वक श्राद्ध गर्ने धार्मिक परम्परा रहेको छ। हिन्दू धार्मिक मान्यताअनुसार पितृप्रति श्रद्धा व्यक्त गर्ने विशेष समयका रूपमा सोह्रश्राद्धलाई लिइन्छ।
सोह्रश्राद्धमा तिथिअनुसार आफ्ना दिवङ्गत आफन्तको श्राद्ध गर्ने चलन छ। पितृको मृत्यु भएको तिथिमा श्राद्ध गर्ने भएकाले यस अवधिमा विभिन्न तिथिमा छुट्टाछुट्टै श्राद्ध गरिन्छ। कतिपय परिवारले घरमै पुरोहित बोलाएर धार्मिक विधि पूरा गर्ने गरेका छन् भने कतिपयले तीर्थस्थल तथा नदी किनारमा पुगेर श्राद्ध तथा तर्पण गर्ने गर्छन्।
पितृपक्षमा श्राद्ध गर्दा दिवङ्गत आत्माको शान्ति तथा पितृको आशीर्वाद प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। यस अवधिमा पितृलाई सम्झेर दान गर्ने, ब्राह्मणलाई भोजन गराउने तथा आवश्यकताअनुसार धार्मिक कर्म गर्ने परम्परा पनि रहेको छ।
धार्मिक संस्कार र परम्परासँग जोडिएको सोह्रश्राद्ध नेपाली समाजमा पारिवारिक तथा सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। यस अवसरमा परिवारका सदस्यहरू एकत्रित भई दिवङ्गत आफन्तको सम्झना गर्ने र उनीहरूप्रति श्रद्धा व्यक्त गर्ने गर्छन्।
सोह्रश्राद्ध समाप्त भएपछि नेपालीहरूकाे महान चाड बडादशै प्रारम्भव हुनेछ ।















