– खगेन्द्र फुयाल
नेपालमा पछिल्लो केहीवर्ष यता हिउँदयाममा पानी पर्न छोडेको छ । पानी परिहाले पनि अत्यन्तै कम पर्ने गरेको छ । बर्खायाममा भने अत्याधिक वर्षाले हरेक वर्ष ठुलो जनधनको क्षति हुने गरेको छ । जलवायु परिवर्तनका कारण समग्र मौसमी चक्रमा परिवर्तन आएको छ । ढिला मनसुन प्रेवश गर्ने र मनसुन सकिने बेलामा अधिक वर्षा हुनेजस्ता समस्या सामान्य हुन थालेका छन् । हाम्रो भौगोलीक विविधताका कारणले पनि मनसुनको करिव चार महिनाको अवधिमा धेरै क्षति हुने गरेको छ।
नेपालमा वर्षभरी पर्ने वर्षाको करिव ८० प्रतिशत वर्षा मनसुनको समयमा हुने मौसम विद्को भनाइ छ । यथार्थमा नेपाल भारत वांलादेश सहित दक्षिण एसियाली देशहरुमा मनसुनका बेलामा धेरै नै वर्षा हुने गर्दछ।
विगतका वर्षहरुमा जस्तै यसवर्षपनि हिउँदयाममा खास्सै पानी परेन । तर, प्रि–मनसुन सुरु भएदैखि दैनिकजसो पानी परिरहेको छ।
हिमाली भागमा चैत वैशाखमा समेत हिउँ परेको खबर तथा फोटो सार्वजनिक भएका थिए । काठमाडौं सहितका पहाडी क्षेत्रमा यसवर्ष वैशाखसम्मै जाडो महसुस गरिएको छ । नेपालमा मुख्यगरी जेठ महिनाको अन्तिम तथा असारको पहिलो हप्तासम्म मनसुन भित्रीसक्छ भने असोजको पहिलो वा दोस्रो हप्तासम्म मनसुन बाहिरिने गर्दछ।
बंगालको खाडीमा विकासित मनसुन भारतको केरेला आइसकेको र चाडै नै नेपाल प्रवेश गर्ने त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा.विनोद पोखरेल बताउनु हुन्छ ।
बर्खामासको बिपद् र क्षति पूर्वानुमान
जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा नेपालमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ । विभागका अनुसार यो मनसुनमा कर्णाली र कोशी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने जनाएको छ । कर्णाली प्रदेशको दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पूर्वीक्षेत्र र कोशी प्रदेशको दक्षिणी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको जनाएको छ ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पश्चिम क्षेत्र र कोशी प्रदेशका मध्यभागमा सरदरभन्दा कम वर्षाहुने सम्भावना ४५ देखि ५५ प्रतिशतसम्म रहेको छ ।
कम वर्षा हुने आकलनकाबिच बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले यसवर्ष मनसुनजन्य बिपद्बाट देशभरी करिब एकाउन्न हजार आठसय ६८ घरधुरीका २ लाख २६ हजार छसय ६१ जनसंख्या प्रभावित हुने आकलन गरेको छ ।
‘दशा बाजा बजाएर आउदैन’ भन्ने नेपाली उखान रहेको छ । सोही उखानलाइ मनन गर्दै मनसुनका समयमा आइलाग्ने विभिन्न बिपद्का घटना रोकथाम र क्षति कमगर्न मनसुन सुरुहुनुभन्दा अगाडी नै तयारी थाल्नु बुद्धिमानी हुन्छ । बिपद् जोखिम न्युनिकरण गर्न सबैले आआफ्नो क्षेत्रबाट समयमै पूर्वकार्यहरु गर्न सकियो भने बिपद्का बेलामा हुने जनधनको क्षति कम गर्न सकिन्छ ।
बिपद् अघिको तयारी
बिपद्बाट हुनसक्ने सम्भावित क्षति कम गर्न मनसुन सुरुहुनभन्दा अगाडी विभिन्न तयारी गर्न सकिन्छ । जसले गर्दा कम क्षतिमा बिपद्लाई पार लगाउन सकिन्छ । पूर्वसूचना प्रणाली स्थापना गरी जोखिमपूर्ण स्थान र सम्भावित बाढी पहिरो बारेमा सर्वसाधारणलाई जानकारी गराउन सकिन्छ । बिपद् जोखिम र त्यसबाट बच्ने उपायका बारेमा गाँउ टोलमा जनचेतनामुलक अभिमुखीकण चलाउन सकिन्छ । अधिक वर्षा भएको स्थान र त्यसबाट प्रभावित हुनसक्ने तटीय क्षेत्रका सर्वसाधारण लक्षित सूचना एसएमएस, स्थानीय सञ्चारमाध्यम तथा माइकिङ गरी सुसूचित गर्न सकिन्छ ।
आफु वरपर रहेका ढल, नाली, कुलो, पोखरी जस्ता संरचनालाई स्तरोउन्नती गर्नुका साथै नियमित सरसफाइ गर्नुपर्छ । यस्ता संरचनामा पानीको निकास रोकिएर हुनेसक्ने जोखिम बारेमा सचेत रहुनुपर्छ ।
आपत्कालिन अवस्थामा चाहिने अत्यावश्यक सामग्री सहितको आपत्कालिन झोला तयार गरी राख्नुपर्दछ । यस्तो झोलामा नियमित खानुपर्ने औषधी, सिटामोल, बेटाडिन, मञ्जन, सम्भव भएसम्म टर्चलाइट तथा पकेट रेडियो, मोबाइल चार्जर, महत्वपूर्ण टेलिफोन डायरी लगायतका अत्यावश्यक वस्तुको बन्दोबस्त गर्नुपर्छ । यस्तो झोला समय समयमा खोलेर मिति नाघेका औषधी फेर्नुका साथै प्रयोगमा निकालिएका सामग्रीहरु पुनःराख्न विर्सिनु हुदैन ।
आफु बसोबास गरेको घरगोठ तथा वरपरको जमिन र त्यहा देखिएका परिवर्तन बारेमा सचेत रहनुपर्दछ । ठुलो पानी पर्ने पूर्वानुमान भएको बेलामा र वर्षापछि भेलबाढी आउदा आफु बसोबास गर्ने स्थान खतरामा पर्नेभए अस्थायी बसोबास तथा व्यवस्थापनका लागि नजिकैको सुरक्षित स्थान पहिचान गर्नुपर्छ । उक्त स्थानलाई प्रयोग गर्न मिल्ने अवस्थामा खाली राख्नुपर्छ ।
आपद्विपत् आइहालेमा सहयोगका लागि बोलाउनुपर्ने आफन्त तथा सुरक्षा निकाय, सरकारी निकायका व्यक्तिको सम्पर्क नम्बर बालबालिका तथा वृद्धवृदा सबैलाई जानकारी गराउनुपर्छ । अन्नपात तथा पशु चौपायलाई सुरक्षित एवम् वर्षाबाट जोगाउनुपर्छ ।
बिपद्का बेलामा के गर्ने ?
बिपद् धनी गरिव जोसुकैलाई पनि पर्नसक्छ । बर्खामासको समयमा बिपद्को जोखिम सबैभन्दा धेरै हुन्छ । आफु बसेको स्थानमा बिपद् पर्न लागेमा तत्काल ग्यास तथा विजुलीका स्वीच बन्द गरी सुरक्षित स्थानमा सर्नुपर्छ । सरकारी निकायको तोकिएको फोन नम्बरमा सम्पर्क गरी आफु बिपद्मा परेको जानकारी गराउदै उद्धारका लागि खबर गर्नुपर्छ । आवश्यक परेका व्यक्तिलाई प्राथमिक उपचारको व्यवस्था गर्नुपर्छ । अन्नपात तथा बस्तुभाउलाइ सुरक्षित स्थानमा सार्नुपर्छ । धैर्यतापूर्वक उद्धारको पालो पर्खिनुपर्छ।
यस्तो बेलामा सकेसम्म निस्वार्थ भावनाका साथ संयमित भएर एकअर्कालाई सहयोग गर्नुपर्छ । हल्ला (मिथ्या सूचना) को पछि नलागी आधिकारीक निकायका सूचनालाई आधारमा मानेर सोही अनुसारको आदेश पालना गर्नुपर्छ । उद्धारका क्रममा बालबालिका, वृद्धवृद्धा, अशक्त तथा विरामी व्यक्तिलाई पहिलो प्राथमिकता दिनुपर्छ।
नदी किनार तथा आफु बसोबासो गरेको स्थानमा पानीको तह बढ्नथाले तत्कालै उक्त स्थान छोडेर सुरक्षित स्थानमा जानुपर्छ । बाढीपहिरोको बेलामा भिडभाड नगरी उद्धारकार्यमा खटिएका व्यक्ति तथा संस्थाका प्रतिनिधिलाई सहयोग गर्नुपर्छ । बिपद् सम्बन्धी भिडियो तथा तस्विर खिचेर स्थान, समय र प्रसंग फेरबदल वा गलत व्याख्यागरी सामाजिक सञ्जालमा अपलोड गरी दुष्प्रचार गर्नु हुदैन ।
बिपद् पछिका कार्यहरु
मानव जगतका लागि विस्थापित हुनु एउटा अकल्पनीय परिघटना हो । बिपद्का बेला सबैभन्दा महत्वपूर्ण कुरा विस्थापितहरुको पुनःस्थापना हुन्छ । यसभन्दा बाहेक पनि अन्य थुप्रै विषयहरु आवश्यक पर्छन । विस्थापन हुनेवित्तिकै पुनः सोही स्थानमा फर्किहाल्नु हुदैन । जोखिमयुक्त घर तथा टहराको अनुगमन गरी उक्त स्थानमा बस्नका लागि सुरक्षित छ छैन भन्ने तर्फ सम्बन्धित निकायका विज्ञहरुबाट परिक्षण गर्नुपर्छ ।
बिपद्का बेलामा महामारी फैलिनसक्ने उच्च सम्भावना रहने हुँदा पानी तथा अन्य खानेकुराको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । घाइते भएका व्यक्ति, दिर्घरोगी तथा पशुचौपायको तत्काल स्वास्थ्य परिक्षण तथा उपचार गर्नुपर्छ । विस्थापितहरुलाई राहत तथा पुनःस्थापना कार्य तत्काल सुरु गर्नुपर्छ ।
उद्धारगरि राखिएका पीडितलाई आधारभूत मानव अधिकारको प्रत्याभूति दिलाउनुपर्छ । मानसिक रुपमा विक्षिप्त भएका तथा कमजोरलाइ उचित व्यवहार, खानपान र सहायता उपलब्ध गराउनुपर्छ ।














