काठमाडौं । भारतसँगको सीमामा कडाइ बढेपछि अवैध रूपमा भित्रने अण्डा रोकिएको छ। जसको प्रत्यक्ष प्रभाव नेपालका किसानमाथि सकारात्मक रूपमा देखिएको छ ।
अवैध प्रतिस्पर्धा रोकिनासँगै किसानले उत्पादन लागत बराबरको मूल्य पाउन थालेका छन्। नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुनेगरी अण्डाको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ ।
एक्सएल साइजको अण्डा प्रतिक्रेट ५२० रुपैयाँ, ठूलो ५०५ रुपैयाँ र मिडियम ४९० रुपैयाँ कायम गरिएको छ । अघिल्लो मूल्यभन्दा प्रति क्रेट ५५ रुपैयाँले बढेको संघले जनाएको छ ।
भारतमा निर्वाचनका कारण सिमानामा कडाइ बढ्नु, त्यहाँको बजारमा अण्डाको खपत उच्च हुनु र मूल्य वृद्धि भएपछि अवैध रूपमा नेपाल अण्डा भित्र्याउने क्रम रोकिएको संघको भनाइ छ । भारतमा प्रतिगोटा अण्डा लगभग भारतीय रुपैयाँ ७.८० मा बिक्री भइरहेको छ ।
नेपालमा एक वटा अण्डाको उत्पादन लागत करिब १६.५७ रुपैयाँ पर्छ। अहिलेको मूल्यअनुसार किसानले निकै समयपछि लागत बराबरको दर पाउन थालेको संघको दाबी छ।
जाडो मौसमसँगै अण्डाको माग बढ्ने हुँदा उत्पादन र बजार दुवै सन्तुलित हुने अपेक्षा गरिएको छ । हाल देशभर दैनिक करिब ४० लाखको हाराहारी अण्डा उत्पादन हुने अनुमान छ।














