काठमाडौँ, २८ असोज — नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) ले आर्थिक वर्ष २०८२/८३ को १५औं वार्षिक साधारण सभा आज (१४ अक्टोबर २०२६) काठमाडौँमा सम्पन्न गरेको छ।
साधारण सभाले लेखापरीक्षण प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गरेको छ। साथै, सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम १५% बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९५% नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ। बोनस शेयर जारी गरेपश्चात् कम्पनीको चुक्ता पुँजी रु १,६७,७२,८८,२०० पुग्नेछ।
कम्पनीले पुँजी वृद्धिबाट प्राप्त रकम नेशनल पेमेन्ट प्रणालीहरू, नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणालीहरू, डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर (DPI) का लागि पूर्वाधार, जोखिम व्यवस्थापनलाई सुदृढ बनाउन तथा सञ्चालनमा रहेका पूर्वाधारहरूको स्तरोन्नतिका लागि प्रयोग गर्ने जनाएको छ।
आर्थिक वर्ष २०८२/८३ को वित्तीय तथा कारोबार विवरण:
- कुल कारोबार रकम: NCHL का भुक्तानी प्रणालीहरूमार्फत कुल रु २१० खर्ब बराबरको २३.८२ करोड भुक्तानी कारोबार राफसाफ भएको छ।
- कारोबार वृद्धि: कारोबारको संख्या र रकमका आधारमा १३% ले वृद्धि भएको छ।
- सञ्चालन आम्दानी: कम्पनीको सञ्चालन आम्दानी ७% ले बढेको छ।
- खुद नाफा: अघिल्लो आर्थिक वर्षको तुलनामा २% ले कमी आई खुद नाफा रु ४१ करोड रहेको छ।
नयाँ सहायक कम्पनी स्थापनाको निर्णय
साधारण सभाले बैंकिङ्ग, वित्तीय तथा भुक्तानी प्रविधिमा अनुसन्धानका साथै प्रविधि र सफ्टवेयरको विकास तथा जडान गर्ने उद्देश्यले छुट्टै पब्लिक लिमिटेड सहायक वा सम्बद्ध कम्पनी स्थापना गर्ने प्रस्ताव पारित गरेको छ। यसका लागि आवश्यक स्वीकृति र प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिएको छ।
संस्थागत संरचना र सेवाहरू
NCHL को सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट १ जना, वाणिज्य बैंकहरूबाट ३ जना, विकास बैंक र फाइनान्स कम्पनीहरूबाट १-१ जना तथा १ जना स्वतन्त्र सञ्चालक रहने व्यवस्था छ। यस संस्थामा नेपाल राष्ट्र बैंकको ९.४५% र बैंक तथा वित्तीय संस्थाहरूको ९०.५५% स्वामित्व रहेको छ।
NCHL ले हाल NCHL-ECC, NCHL-IPS, EFT Card Switch, नेशनल पेमेन्ट स्विच (NPS) अन्तर्गत NPS-NCS र RPS, NPI, तथा NPIx प्रणालीहरू सञ्चालन गरिरहेको छ। साथै connectIPS, CORPORATEPAY, connectRTGS, NEPALPAY QR, र NEPALPAY Card लगायतका भुक्तानी उपकरणहरू समेत सञ्चालनमा छन्।
हाल नेपाल राष्ट्र बैंकसहित ५३ वटा बैंक तथा वित्तीय संस्थाहरू प्रत्यक्ष सदस्यका रूपमा र १५० भन्दा बढी गैर-बैंकिङ्ग संस्थाहरू अप्रत्यक्ष/प्राविधिक सदस्य (Indirect/Technical Member) का रूपमा NCHL मा आबद्ध रहेका छन्।
(थप जानकारीका लागि कम्पनीको आधिकारिक वेबसाइट www.nchl.com.np मा हेर्न सकिनेछ।)















