- विनोद दाहाल
सत्तामा पुगेपछि वर्ग त्याग गर्ने अवसरवादी सोच पलाउने बढि सम्भावना हुन्छ । प्रतिक्रियावादी सत्ता नजिकै देखेका कम्युनिस्ट पार्टी भित्रका केही नेतृत्त्वमा अवसरवादीले पनि संशोधनवादी बाटो तय गर्दछन् । यी अवसरवादीले संसारभर नयाँ कार्यदिशा भन्दै ओरालो लाग्ने गरेका छन् । त्यही कार्यदिशाअन्तर्गत सत्ता उपयोग गरेर कम्युनिस्टका नाममा प्रतिक्रियावादीसँग अधिकार बाँडफाँँडका लागि नीति, योजना र कार्यक्रम बनाए ।
समाज परिवर्तनको लागि भन्दै यहाँ एमालेले जवज बनाए र माकेले २१औं शताब्दिको जनवाद बनाए । व्यवहारतः यस्ता अवसरवादी तत्तवहरूले बनाएको एउटा नीति पनि लागू हुन थालेपछि यिनीहरूकै पहलमा परिवर्तन भएका छैनन् । भएका परिवर्तनहरू प्रतिक्रियावादी वर्गले चाहेका तर त्यसका लागि नेतृत्त्व लिन नसकेको स्थितिमा मात्र परिवर्तन भएका छन् ।
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसि, समानुपातिक लोकतन्त्र यस्तै चीज हुन् । यस्तै तत्तवहरू भन्नका लागि चाहिँ हामीले गर्दा नै तमाम कुरा भएका हुन् भनेर जनतालाई झुक्याइरहेका छन् । यी अवशरवादीले जुन चिजको जनता झुक्याउनेबाहेक अरू कुनै काम छैन त्यही झोलामा बोकेका छन् । यही कारण यिनलाई झोले भन्न मात्र सुहाउँछ !
समाज वर्गीय छ । सर्वहारा, सुकुम्बासी, गरिब, दुःखी, ऋणको भारि लिएर जन्मिएका देखि १५ पुस्ताअघि उसको पुर्खाले राज्यविस्तार गर्दै बनाएकाले यस्को बपौती ठान्ने सामन्तीदेखि, जनतासँग कर, भेटी, दानमा बाँचेका परजिवीहरूसमेत रहेको समाज छ । कोही धनी असाध्य कोही गरिब माग्ने पनि यही समाजमा छन् । न्याय, मुक्ति, समानता, स्वतन्त्रता खोज्ने श्रम गर्ने जनता पनि यही समाजमा छन् ।
मानव सेवा, परोपकार, सहयोगलाई दलाली गरेर पैसा बटुल्ने दलालहरू, नाफाखोर भई सम्पत्ति थुपारेका एकाधिकारि पुँजीपतिहरू करमा ढाडिएका नोकरशाही शासक सबै जनबिरोधि यही समाजमा छन् । यही समाजमा भ्रष्ट, तस्कर, माफिया गिरोह, अनेक खालका अपराधिहरू पनि छन् । कम्युनिस्ट पार्टीले सदस्यता दिंदा सबैलाई योग्य ठान्नुहुन्न । कहाँनेर कमजोरि भयो र गैरकम्युनिस्टहरूले दल भरिएका देखिन्छन् त्यस विषयमा समिक्षा गरौ । दलनै कब्जा गरेनेगरी सदस्यता दिएपछि दलभित्रका अवसरवादीले दल कब्जामा लिन सक्छन् र सबै दल यसरी नै कब्जामा परिसकेका छन् । दलको नीति निर्माण तहबाट सोच्नुपर्ने हो, सोचेका छन् नेतृत्त्वले दलमा आबद्ध सबैलाई कम्युनिस्ट बनाउन सिकाउनु पर्छ । अनि जनक्रान्ति विजयमा पुग्छ त ?
सर्वहारा श्रमजिवी जनता राष्ट्रियता, जनतन्त्र र जनजिविकालाई प्रश्न बनाएर सङ्घर्ष गर्छन् । यही सङ्घर्ष नै वर्गसङ्घर्ष हो र यही सङ्घर्षले नै समाजलाई परिवर्तन गरिरहेको छ । समाज र सभ्यताको विकास यही कारण भएका हुन् । सामन्ती, बुर्जुवा वर्गले यो समाज र सभ्यता बनाएका हैनन् । ईतिहासका निर्माता श्रमजिवी जनता हुन् । यिनैको मात्र बिद्रोह गर्ने अधिकार छ । कम्युनिस्टले जनताको यो अधिकारका लागि आफूले नेतृत्तव लिने क्षमता राख्दछ ।
मान्छे जब ईश्वरमाथि विश्वास गर्छ र धर्मप्रति आस्था राख्छ ऊ कमजोर चेतनास्तरको हुन्छ र कम्युनिस्ट पार्टीको सदस्यताको लागि अयोग्य हुन्छ । अयोग्यहरूलाई प्रवेश दिने र तिनैको बाहुल्यता बनाएर कम्युनिस्ट पार्टीको नेतृत्व हुनेहरू पनि सहि हैनन् । जब सहि हैनन् भने कम्युनिस्टले उनीहरूलाई नेतृत्तव किन मानिराख्नु ? कम्युनिस्टले त अवशरवाद बिरुद्ध बिद्रोहको आवाज उठाउने हैसियत राख्दछन् ।
स्मरणरहोस्, अवसरवादीले दल कब्जा गरेपछि दल जब ग्याङ बन्छ तब निर्दयता र विवेकशुन्य हुन्छ । मानिस दल र ग्याङ छुट्याउन नसकेर जील परेको हुन्छ । यस्तै बेलामा अपराधि जत्था सत्ता चलाउन पुगेको हुन्छ । अपराधको सँजाय भोगिरहेको मान्छे अवश्य त्याज्य हुन्छ । अपराधिले नै दल कब्जा गरेपछि दल नै ग्याङमा बदलिन्छ । कहिं देख्नुभएको छ घोषित अपराधिलाई दलबाट निकालिएको ? दल नै ग्याङ भैसकेपछि केको आशा हुन्छ र जनतालाई ? निराश जनताको मन उर्लिएरपछि बाढि आएको हुन्छ । ८–१० वर्षको बीचमा मनको बाढि आएको देख्नुभएको छ ?