काठमाडाैं । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत प्राप्त गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा(४) तथा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम १२८ को उपनियम(४) बमोजिम मुख्यमन्त्री कार्कीले सभामा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए ।
प्रस्तावको पक्षमा ५९ मत परेको थियो । प्रस्तावको विपक्षमा नेपाली कांग्रेसका २८ र नेकपा एकीकृत समाजवादीको चार गरी ३२ मत परेको थियो । कांग्रेसका प्रदेशसभा सदस्य प्रदीप सुनुवार अनुपस्थित थिए ।
मुख्यमन्त्री कार्कीले प्रदेशलाई सक्षम, सवलीकरण गरी प्रशस्त रोजगारी सिर्जना गर्ने बताए । उनले गत निर्वाचनमा आम मतदाताले कुनै पनि राजनीतिक दललाई बहुमत नदिएको अवस्थामा मिलेर अघि बढ्न राजनीतिक दललाई आग्रह गर्दै विश्वासको मत मागेका थिए ।
मुख्यमन्त्री कार्कीले संविधानको कार्यान्वयन र जनताको जनादेशलाई सम्मान गर्न सबै राजनीतिक दललाई आग्रह गरे । उनले भने, ‘मिलेर देश बनाऔँ ।’ उनले प्रदेश संरचनालाई स्थायी बनाउन दायित्व थपिएको भन्दै सङ्घीयताको विषयमा भइरहेको नकारात्मक टिप्पणीलाई सकारात्मक बनाउन हरसम्भव प्रयास गर्ने बताए ।