- विनाेद दाहाल
मानिसहरु अचम्म मान्छन्- कम्युनिस्टहरुले किन धार्मिक र परम्परागत व्यवहारहरु गरेका हुन् भनेर ! अझ माओवादीले नै यस्ता कार्य गर्दा त विवादको बिषय नै बन्नेगरेको छ ।
मानिसहरु २ प्रकारका अवस्थाहरु झेल्दै आएका छन्- एउटा आवश्यकताको व्यवहार र अर्को शासक र शोषक वर्गको चाहनाका लागि कार्यहरु । यी कार्यहरु र व्यवहारहरु भौतिक र अध्यात्मिक दुबै मिसिएर आएका छन् । मानिसका आवश्यकताले भौतिकवादी व्यवहारहहरु हुने गर्दछन् भने शासक र शोषक वर्गलाई अध्यात्मिक जालोमा पारेर लुटनुपर्ने आवश्यकताले गर्दा मानिस अध्यात्मवादी व्यवहार गर्न पनि वाध्य बनाइएका हुन्छन् ।
संस्कृति गहन बिषय हो । संस्कृतिकै कारण एक धर्म र अर्को धर्मका मानिसबीच फरक र व्यवहार पनि फरक देखिन्छ । भावनात्मक रुपमा पनि फरक हुन्छन् । यसले साम्प्रदायिक भावना समेत बनेर विवेकहीन तथा कठोरसम्म बनाइदिने तागत राख्दछ । मानिस कस्तो बनाउने भन्ने बिषय संस्कृतिले निर्धारण गर्दछ । कम्युनिस्टले पनि नयाँ संस्कृतिमार्फत नयाँ मानिस बन्ने प्रयत्न गर्नुपर्दछ । मुख्यतः आफ्नो संस्कृति के हो भनेर गहन ढङ्गले बुझ्नु जरुरी हुन्छ ।
संस्कृति मानव व्यवहारबाट भावना पैदा गर्ने कार्य हो । मानवमा कस्तो भावना पैदा हुनुपर्छ भनेर संस्कृति निर्माण गरिन्छ । संस्कृतिले मानिसका व्यवहारलाई स्वभाविक बनाईदिन्छ । संस्कृतिले आवश्यकता अनुसारको मानिस निर्माण गर्नसकिन्छ । त्यसैले राज्यले आफ्नो आवश्यकता अनुसार संस्कृति निर्माण गर्नेगर्छ । हाम्रा समाज पुरानै ढाँचाको छ, राज्य पनि पुरानै छ । त्यसैले समाज र राज्यलाई पुरानै संस्कृति आवश्यक रहेकाले त्यतैतिर समाजलाई लैजान प्रोत्साहित गर्ने गरिएको छ । जतिसुकै विद्वान र जत्रोसुकै नेता होस ऊ अध्यात्मिक र अलौकिक शक्ति हुन्छ भन्ने संस्कृति अनुसार व्यवहार गर्न वाध्य बनाईएको हुन्छ ।
हाम्रो संस्कृति कस्तो छ भनेर देखिने उदाहरण यो देख्न सकिन्छ-
समाजवाद उन्मुख राज्य बनाउने सहि गर्नेहरुलाई “उदार अर्थतन्त्र” मान्छौं भनेर mcc मा सहि गर्न लगाए जस्तै आफ्ना मूल्य र मान्यता बिपरितका धर्मशास्त्र र अलौकिक शक्तिका व्यवहारहरु लागू गरेका चाढपर्व र परम्पराहरु मान्य वाध्यभएका छन् ।
नेपाली क्रान्तिमा एउटा ठूलो समस्या यही छ कि नेतृत्व नै आफ्ना मूल्य र मान्यता बिपरितका व्यवहारहरु गर्न पुगेका छन् । यही कारण कार्यकर्ता र जनतामा भ्रमको सृजना हुनेगरेको छ । कस्तो बिडम्वना छ भने कम्युनिस्ट र प्रतिक्रियावादी वर्गका जीवन दर्शनमा खास भिन्नता देखिंदैन ।
मेराे बुझाइमा दशैं, तिहार, होली, तिजजस्ता धार्मिक चाडपर्वहरु वर्ग दुस्मनका हुन् शासक- प्रशासकले अध्यात्म वा अलौकिक शक्तिको भयङ्कर ठूलो षड्यन्त्रको जालो बुनेर शक्तिले भ्याएसम्म जनतालाई फसाई राखेका हुन्छन् । युगौंदेखि शासनसत्ता र जनताको भयङ्कर दुस्मनी छ । अध्यात्मिक कार्यहरु मिसाएर गरिने कार्यहरु मेरो मूल्य र मान्यता बिपरितका हुन् भन्ने बुझ्छु त्यसैले बहिस्कार गर्नेगर्छु । कम्युनिस्ट भन्नेहरुले आफ्नो जनवादी संस्कृति, श्रम संस्कृति र मानवीय मुल्यमान्यतायुक्त संस्कृतिप्रति उत्तरदायी हुनुपर्ने कुरा अझै नसिकेको देखिन्छ ।