- साेम प्रसाद डाेटेल
असाेज २६, काठमाडाैं । नेपाल पत्रकार महासंघको नियमित साधारणसभा आगामी मंसिर २६ र २७ गते बागमती प्रदेशमा हुने भएको छ।
महासंघको केन्द्रीय समितिको जनकपुरधाममा असोज २२ र २३ गते सम्पन्न पाँचौँ पूर्ण बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो।
महासंघले जारी गरेको जनकपुरधाम घोषणापत्रमा प्रेस स्वतन्त्रताको संरक्षण, श्रमजीवी पत्रकारको हकहित र पत्रकारका विभिन्न समस्याबारे सार्थक बहस गर्न साधारणसभा आयोजना गर्ने उल्लेख छ।
बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी पत्रकारको अधिकार, सञ्चारमाध्यमको आर्थिक संकट र सरकारका प्रेस स्वतन्त्रताविरोधी निर्णयलगायत विषयमा विभिन्न निर्णय गरेको छ।
महासंघले सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न, लोककल्याणकारी विज्ञापनको रकम कटौती फिर्ता लिन तथा प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार लोककल्याणकारी विज्ञापनको रकम दोब्बर बनाउन माग गरेको छ।
त्यसैगरी, सञ्चार प्रतिष्ठानहरूलाई पत्रकारसँग भएका सम्झौता कार्यान्वयन गर्न र श्रमजीवी पत्रकारले पाउनुपर्ने न्यूनतम पारिश्रमिक तत्काल भुक्तान गर्न महासंघले आग्रह गरेको छ। अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरणमा लाग्ने शुल्क विगतमा जस्तै निःशुल्क गर्न पनि बैठकले माग गरेको छ।
बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको संरक्षणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसँग संवाद बढाउने घोषणा गर्दै लोकतन्त्र, नागरिक अधिकार र स्वतन्त्र प्रेसको पक्षमा निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी जनकपुरधाम घोषणापत्रमा प्रेस स्वतन्त्रता, पत्रकारको पेसागत सुरक्षा तथा अधिकारलगायत विषयमा १७ बुँदे निर्णय सार्वजनिक गरिएको छ।














