काठमाडौँ / सुपर हेवा पावर कम्पनी लिमिटेडको १६औँ वार्षिक साधारण सभा असोज २५ गते आइतबार काठमाडौंको सानोभर्याङस्थित बुद्ध प्यालेस पार्टी भेन्यूमा कम्पनीका अध्यक्ष हर्कबहादुर तामाङको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ । वार्षिक साधारण सभाको अवसरमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ। कम्पनीका अध्यक्ष हर्क बहादुर तामाङद्वारा प्रस्तुत प्रतिवेदनअनुसार कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई करसहित ३.१५७९ प्रतिशत नगद लाभांश (कुल रु. २,४३,१५,७८९.५०) वितरण गर्ने प्रस्ताव साधारण सभामा सर्वसम्मतले पारित भएको छ ।

कम्पनीको वित्तीय अवस्था र आय-व्ययको विवरण
प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०८२/०८३ मा कम्पनीले विद्युत बिक्रीबाट कुल रु. १९,७९,५७,१४१/- आम्दानी गर्न सफल भएको छ। सोही अवधिमा कम्पनीको शुद्ध मुनाफा रु. ४,३१,०७,४२०/- रहेको छ।
कम्पनीले आयोजना निर्माणका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको कुल ऋण रु. ९२,१९,३२,६१२.९० मध्ये हालसम्म रु. ४,०४,००,०००/- सावाँ फिर्ता गरिसकेको छ भने बाँकी कर्जा रकम रु. ८८,१५,३२,६१३ रहेको छ। कम्पनीको कुल दायित्व रकम रु. ९४,२४,६०,८६१ रहेको छ।
गत आव २०८२/०८३ को प्रमुख खर्चहरू:
- रोयल्टी खर्च: रु. ४५,५९,१४३/-
- प्रशासकीय तथा तलब भत्ता खर्च: रु. २,०७,९७,३०९/-
- आयोजनाको बीमा खर्च: रु. ३५,४८,४१७/-
- मर्मत सम्भार खर्च: रु. ४५,०९,७४५/-
- ब्याज खर्च: रु. ५,९६,७८,६१५/-
- ह्रासकट्टी (Depreciation) खर्च: रु. ६,०८,९८,९३१/-
- कुल जम्मा खर्च: रु. १५,३९,९२,१६०/-
शेयर निष्कासन (IPO) र पूँजीगत संरचना
कम्पनीको हालको पूँजीगत संरचना देहाय बमोजिम रहेको छ:
- अधिकृत पूँजी (Authorized Capital): रु. ९६,२५,००,०००/- (छयानब्बे करोड पच्चिस लाख रुपैयाँ)
- जारी पूँजी (Issued Capital): रु. ९६,२५,००,०००/-
- चुक्ता पूँजी (Paid-up Capital): रु. ७७,००,००,०००/- (सतहत्तर करोड रुपैयाँ)
कम्पनीले आफ्नो अधिकृत पूँजीको २० प्रतिशत अर्थात् रु. १९,२५,००,०००/- (उन्नाइस करोड पच्चिस लाख रुपैयाँ) बराबरको १९,२५,००० कित्ता शेयर सर्वसाधारणका लागि (IPO) निष्कासन गर्ने प्रक्रिया धितोपत्र बोर्ड (SEBON) को पाइपलाइन/स्वीकृतिको चरणमा रहेको जनाएको छ।
आयोजनाको परिचय र सञ्चालन
सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिका र पाँचखपन नगरपालिका भएर बग्ने हेवा खोलामा ६ मेगावाट (MW) क्षमताको ‘सुपर हेवा खोला जलविद्युत आयोजना’ निर्माण गरी सञ्चालन भइरहेको छ। वि.सं. २०६७ मङ्सिर ७ गते प्राइभेट कम्पनीको रूपमा स्थापित भई २०७९ असार ३० गते पब्लिक लिमिटेडमा रुपान्तरण भएको यस कम्पनीले नेपाल सरकार, विद्युत विकास विभागबाट ३५ वर्षका लागि विद्युत उत्पादन अनुमति प्राप्त गरेको छ।
आयोजनाको कुल लागत रु. ७७ करोड रहेको छ भने हाल १७४ जना संस्थापक शेयरधनीहरू रहेका छन्। आयोजनाले २०८२/०१/०१ देखि व्यावसायिक उत्पादन प्रारम्भ गरी उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्दै आएको छ।
कर्मचारी बोनस तथा भावी योजनाहरू
कम्पनीले कर्मचारी नियमावली अनुसार कार्यरत कर्मचारीहरूलाई गत वर्षको मुनाफाबाट रु. ८,७९,३००/- बोनस दिने प्रस्तावसमेत साधारण सभामा स्वीकृतिका लागि पेस गरेको छ।
आगामी दिनमा आयोजनाको मर्मत सम्भार कार्यलाई निरन्तरता दिँदै पूर्ण क्षमतामा सञ्चालन गर्ने, सुख्खायाममा समेत विद्युत उत्पादन बढाउन सुक्खायाममा पानी थप्ने खाबा खोलाको पानी मिसाउने (Tailrace/Feeder) कार्य शीघ्र सुरु गर्ने र अन्य उपयुक्त जलविद्युत आयोजनाहरूको पहिचान गरी शेयर लगानी विस्तार गर्ने कम्पनीको लक्ष्य रहेको छ।















