काठमाडौँ — पियोर इनर्जी लिमिटेडको नवौं वार्षिक साधारणसभा असोज २३ गते शुक्रबार (९ अक्टोबर २०२६) बिहान १०:०० बजे अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतली, काठमाडौँमा शेयरधनीहरुको बाक्लो उपस्थितिमा भब्यरुपमा सम्पन्नगरेको छ । नेपालको सौर्य ऊर्जा (Solar Energy) क्षेत्रमा कार्यरत सूचीकृत कम्पनी पियोर इनर्जी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा प्रतिकूल मौसम र सौर्य किरणको उतारचढावका बाबजुद कम्पनीले २४ करोड ७६ लाख रुपैयाँभन्दा बढी सञ्चालन आम्दानी र २ करोड ५२ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। बाँकेमा सञ्चालित दुई सौर्य आयोजनामार्फत कम्पनीले यस वर्ष कुल ३५,१६४ मेगावाट-घण्टा (३ करोड ५१ लाख युनिटभन्दा बढी) स्वच्छ विद्युत् राष्ट्रिय ग्रिडमा योगदान गरेको छ।
वित्तीय कार्यसम्पादन र आम्दानीको अवस्था
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले विद्युत् बिक्रीबाट २४ करोड ७६ लाख १६ हजार ८२५ रुपैयाँ सञ्चालन आम्दानी गरेको छ, जुन अघिल्लो आव २०८१/८२ को २५ करोड ९२ लाख ५६ हजार ९१६ रुपैयाँको तुलनामा ४.४९ प्रतिशतले कमी हो। ब्याज, कर, मूल्यह्रास र अमोर्टाइजेसन अघिको आम्दानी (EBITDA) २३ करोड ८८ लाख २६ हजार ९२९ रुपैयाँ रहेको छ।
समीक्षा वर्षमा कम्पनीको कुल सञ्चालन एवं प्रशासनिक खर्च ३ करोड ७५ लाख ४८ हजार ७५५ रुपैयाँ र वित्तीय खर्च (बैंक ब्याज) ७ करोड ९२ लाख ७३ हजार ९६ रुपैयाँ रहेको छ। कर पछिको शुद्ध नाफा २ करोड ५२ लाख ७२ हजार ६२२ रुपैयाँ कायम भएको छ। समीक्षा वर्षमा कम्पनीको प्रति शेयर आम्दानी (EPS) ३.१६ रुपैयाँ र प्रति शेयर नेटवर्थ १०३.६४ रुपैयाँ रहेको छ। कम्पनीको कुल चुक्ता पूँजी ८० करोड रुपैयाँ (८० लाख कित्ता शेयर) रहेको छ, जसमा ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारण समूहको स्वामित्व रहेको छ।
२० मेगावाट क्षमताका सौर्य आयोजना र उत्पादन स्थिति
पियोर इनर्जी लिमिटेडले बाँके जिल्लाको खजुरा गाउँपालिका–८, रनियापुरमा १०–१० मेगावाट क्षमताका दुईवटा ग्रिड-आबद्ध सौर्य आयोजना — ‘पियोर इनर्जी ब्लक १’ र ‘पियोर इनर्जी ब्लक २’ सञ्चालन गरिरहेको छ। ‘ब्लक २’ ले २०८० वैशाख १८ गते र ‘ब्लक १’ ले २०८० पुस ११ गतेदेखि व्यावसायिक उत्पादन (COD) सुरु गरेका थिए।
आर्थिक वर्ष २०८२/८३ मा ब्लक १ बाट १७,९७५ MWh र ब्लक २ बाट १७,१८९ MWh विद्युत् उत्पादन भएको छ। उत्पादित विद्युत् २५ वर्षको विद्युत् खरिद सम्झौता (PPA) अन्तर्गत नेपाल विद्युत् प्राधिकरणलाई प्रति युनिट ७.३० रुपैयाँ दरमा ३३ केभी कोहलपुर सबस्टेशनमार्फत बिक्री भइरहेको छ। दुवै आयोजना निर्माणका लागि नबिल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको सहवित्तीयकरण कर्जामध्ये हाल १३९.८० करोड रुपैयाँ चुक्ता हुन बाँकी रहेको छ।
सौर्य ऊर्जामा विस्तार: सोल पावर लिमिटेडमा लगानी
सञ्चालक समितिका अध्यक्ष अक्षय गोल्याण का अनुसार कम्पनीले लगानी आधारलाई मजबुत बनाउन १०० मेगावाट क्षमताका पाँच सौर्य आयोजना विकास गरिरहेको ‘सोल पावर लिमिटेड’ मा १५ करोड ७० लाख १० हजार रुपैयाँ लगानी गरिसकेको छ। सोल पावर लिमिटेडले नेपाल विद्युत् प्राधिकरणसँग PPA सम्पन्न गरिसकेको र आयोजनाहरू विकासका विभिन्न चरणमा रहेकाले यसले दीर्घकालीन रूपमा Pure Energy को प्रतिफल बढाउन सहयोग पुर्याउने विश्वास लिइएको छ।
वातावरणीय प्रभाव र सामाजिक उत्तरदायित्व (CSR)
कम्पनीको स्वच्छ ऊर्जा उत्पादनले नेपालको सन् २०४५ सम्ममा खुद शून्य (Net-Zero) कार्बन उत्सर्जन हासिल गर्ने राष्ट्रिय लक्ष्यमा योगदान पुर्याएको छ। यस वर्ष उत्पादित विद्युत्ले २८,९६६ मेट्रिक टन कार्बन उत्सर्जन कटौती गरेको छ, जुन वार्षिक १२.७७ लाख रूखले सोस्ने कार्बन बराबर हो। साथै यस उत्पादनले औसत २३,१६० नेपाली परिवारको वार्षिक विद्युत् खपत धान्न सक्छ।
सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत कम्पनीले आयोजना क्षेत्र नजिकैको मिया गाउँको सडकमा ग्राभेलिङ, स्थानीय प्रहरी कार्यालयको पूर्वाधार सुधार, सरस्वती पूजाको अवसरमा ३ वटा स्थानीय विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री, झोला तथा पुस्तकालय सामग्री वितरण गरेको छ। उत्कृष्ट प्राविधिक कार्यसम्पादनका लागि कम्पनीले Nepal Clean Energy Week Awards 2026 मा “Best Project O&M Team of the Year” र मुख्य कार्यकारी अधिकृत (CEO) प्रवीण अर्याल ले Future Energy Leadership Awards 2026 मा “Excellence in Business Management Leadership” सम्मान प्राप्त गरेका छन्।
नवौं वार्षिक साधारणसभालेआव २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन र वित्तीय विवरण पारित गरेको छ । आव २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक तोक्ने निर्णय समेत गरेको छ ।














