काठमाडौँ : शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले साङ्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा स्याकम्यान X5000e ६×४ इलेक्ट्रिक प्राइम मुभर र स्याकम्यान X5000e ६×४ इलेक्ट्रिक टिपर नेपालमा सार्वजनिक गरेको छ। यसैसँगै स्याकम्यानले नेपालको तीव्र रूपमा विस्तार हुँदै गएको विद्युतीय हेभी-ड्युटी व्यावसायिक सवारीसाधन क्षेत्रमा प्रवेश गरेको छ।
व्यावसायिक क्षेत्रका चुनौतीपूर्ण आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको X5000e इलेक्ट्रिक प्राइम मुभर भारी सामान ढुवानी तथा लामो दूरीको यातायातका लागि उपयुक्त रहेको छ भने X5000e इलेक्ट्रिक टिपर निर्माण, खानी तथा अन्य चुनौतीपूर्ण अफ-रोड सञ्चालनका लागि डिजाइन गरिएको छ।
दुवै मोडलमा इलेक्ट्रिक पावरट्रेन र ६×४ ड्राइभट्रेनका साथै फास्ट चार्जिङ क्षमता, रिजेनेरेटिभ ब्रेकिङ तथा इन्टेलिजेन्ट ब्याट्री व्यवस्थापन प्रणाली जस्ता विशेषता रहेका छन्। यी प्रविधिले चुनौतीपूर्ण व्यावसायिक परिस्थितिमा सवारीसाधनको प्रभावकारी र भरपर्दो सञ्चालनमा सहयोग पुर्याउने उद्देश्य राखेका छन्।
सहकार्यबारे बोल्दै शंकर ग्रुपकी निर्देशक दीपा अग्रवालले भन्नुभयो, “स्याकम्यानसँगको हाम्रो साझेदारीले नेपालमा अत्याधुनिक विद्युतीय मोबिलिटी समाधानहरू ल्याउने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। आगामी दिनमा यस सहकार्यलाई थप विस्तार गर्दै व्यावसायिक यातायात क्षेत्रमा थप अवसरहरू सिर्जना गर्न हामी तत्पर छौँ।”
जगदम्बा मोटर्स र स्याकम्यानबीचको सहकार्यबारे बोल्दै साङ्क्सी अटोमोबाइल होल्डिङ ग्रुपका साउथ एसिया जनरल म्यानेजर स्टेन्फर्ड लीले भन्नुभयो, “नेपाल विद्युतीय हेभी-ड्युटी सवारीसाधनका लागि सम्भावनायुक्त बजार हो। शंकर ग्रुप र जगदम्बा मोटर्ससँग साझेदारी गर्न पाउँदा हामी खुसी छौँ। यस सहकार्यमार्फत नेपाली बजारमा भरपर्दो र प्रविधिमा आधारित हेभी-ड्युटी समाधानहरू ल्याउने हाम्रो लक्ष्य छ।”
स्याकम्यान X5000e का दुवै मोडलमा विद्युतीय पावरट्रेन प्रविधिसँगै चालकको आराम र सञ्चालन प्रभावकारितालाई ध्यानमा राखिएका विभिन्न सुविधाहरू समावेश छन्। यी सवारीसाधनमा एयर-सस्पेन्डेड सिट, मल्टिफ्याङ्क्सन स्टेयरिङ, एयर कन्डिसनिङ तथा ठूलो इन्स्ट्रुमेन्ट डिस्प्लेलगायत हेभी-ड्युटी व्यावसायिक सञ्चालनका लागि आवश्यक सुरक्षा तथा नियन्त्रण प्रणालीहरू उपलब्ध छन्।















