काठमाडौँ — नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको एक प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक यमलाल भुसालसँग भेटघाट गरी हालै रसुवामा आएको भीषण बाढीबाट अटोमोबाइल क्षेत्रमा भएको क्षतिबारे विस्तृत छलफल गरेको छ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको टोलीले २०८३ असोज ७ गते सो भेटघाट र छलफल गरेको हो।
उक्त छलफलमा अध्यक्ष उप्रेतीले गत २०८३ भाद्र १० गते रसुवा र टिमुरे लगायतका क्षेत्रमा आएको भीषण बाढीका कारण चाडपर्व (दसैँ) को सिजनलाई ध्यानमा राखी चीनबाट आयात गरिएका सयौँको संख्याका सवारी साधनमध्ये धेरैजसो रसुवा नाकाबाट बाढीले बगाएको जानकारी गराउनुभयो। उहाँले पीडित पैठारीकर्ताहरूले सरकारका तर्फबाट पाउनुपर्ने राहतका विषयमा छिटोभन्दा छिटो कार्यान्वयनका लागि आग्रहसमेत गर्नुभयो।
सोही क्रममा नाडाका महासचिव मिलनबाबु मल्लले चीन सीमा भन्सार नखुलेका कारण त्यस क्षेत्रमा पाँच सयभन्दा बढी सवारी साधनहरू रोकिएको बताउँदै तिनको सहजकीकरणका लागि अनुरोध गर्नुभयो। साथै, उहाँले हालसम्म ११ सिटे विद्युतीय माइक्रोबसहरू नछुटेको जानकारी गराउँदै त्यसको निकासका लागि समेत पहल गरिदिन आग्रह गर्नुभयो।
छलफलको अन्त्यमा भन्सार विभागका महानिर्देशक भुसालले बाढी पीडित व्यवसायीहरूका लागि सरकारले के-कस्ता सुविधा र सहुलियतहरू कसरी उपलब्ध गराउने भन्ने मोडालिटीका सम्बन्धमा अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र गृह मन्त्रालयबीच गृहकार्य भइरहेको जानकारी दिनुभयो।
उक्त भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्षद्वय अभिक ज्योति र विक्रम सिंहानिया तथा सचिव मेघराज पौडेललगायतको उपस्थिति रहेको थियो।















