काठमाडौँ — नेपाल टेलिकमले बाढीबाट प्रभावित क्षेत्रका नागरिक तथा उद्धारकर्मीहरूलाई लक्षित गरी विभिन्न राहत, सञ्चार सुविधा तथा पूर्वाधार पुनर्निर्माणका थप व्यवस्थाहरूको घोषणा गरेको छ। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षति पुगेका रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट, तनहुँ लगायत गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेँसी र मुग्लिन-नारायणगढ सडक खण्ड आसपासका बासिन्दालाई राहत पुर्याउने उद्देश्यले यी सुविधाहरू उपलब्ध गराइएको टेलिकमले जनाएको छ।
नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी विज्ञप्ति अनुसार कम्पनीले हालसम्म कर्मचारीहरूको योगदानसहित विभिन्न शीर्षकमा झन्डै २० करोड रुपैयाँ सहयोग उपलब्ध गराइसकेको छ। बाढीका कारण दूरसञ्चार पूर्वाधारमा करोडौँ रुपैयाँको क्षति भए पनि पुनर्निर्माण कार्यलाई तीव्रताका साथ अघि बढाइएको छ।
बाढी प्रभावित क्षेत्रका लागि टेलिकमले उपलब्ध गराएका मुख्य सुविधाहरू निम्न अनुसार छन्:
- निःशुल्क एनटी फाइबर र राउटर: बाढीका कारण क्षति भई पुनः प्रयोग गर्न नमिल्ने एनटी फाइबर केबल र राउटर निःशुल्क जडान गरिनेछ। साथै, फाइबर सेवा प्रयोग गरिरहेका ग्राहकहरूको समयावधि समाप्त भएको भए तीन महिनाका लागि निःशुल्क समय थप गरिनेछ।
- सम्पर्कविहीन सिमको पुनः वितरण: बाढी प्रभावित क्षेत्रका ग्राहकले पाँचवटा सम्पर्क गरिएका नम्बर (Last Location बाढी प्रभावित क्षेत्र हुनुपर्ने) उपलब्ध गराई र यथाशीघ्र KYC अद्यावधिक गरी आफ्नो हराएको वा बिग्रिएको सिमकार्ड पुनः प्राप्त गर्न सक्नेछन्।
- उद्धार टोलीलाई सिम र इन्टरनेट सुविधा: नेपाली सेनाको समन्वयमा फसेका व्यक्तिहरूसँग सम्पर्क कायम गर्न प्याकेजसहितका २१० थान सिमकार्ड उपलब्ध गराइएको छ।
- निःशुल्क इन्टरनेट र डार्क फाइबर Connectivity:
- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) को Main Server र Backup Server जोड्न निःशुल्क Dark Fiber Connectivity दिइएको छ।
- NDRRMA लाई रसुवा बाढीको सूचना, फोटो, भिडियो र फिल्ड रिपोर्ट सङ्कलन तथा प्रवाहका लागि १ वर्षसम्म उच्च गतिको निःशुल्क इन्टरनेट तथा प्राविधिक सहयोग उपलब्ध गराइएको छ।
- जिल्ला प्रशासन कार्यालय भरतपुरको विपद् व्यवस्थापन युनिटलाई १ वर्षका लागि १०० Mbps को निःशुल्क इन्टरनेट दिइएको छ।
- जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा सामाखुशीस्थित राधास्वामी सत्संग व्यास र प्रहरी विपद् उद्धार तालिम केन्द्रमा १ महिनाका लागि १०० Mbps को निःशुल्क इन्टरनेट उपलब्ध गराइएको छ।
- मानसिक स्वास्थ्य परामर्शका लागि टोल फ्री सेवा: प्रभावित नागरिकलाई मनोवैज्ञानिक सहयोग पुर्याउन मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (CMC-Nepal) को टोल फ्री नम्बर १८१०५०००४०२ मा ३ महिनासम्मको मासिक बिल निःशुल्क गरिएको छ।















