काठमाडौं — सुपर मादी हाइड्रोपावर लिमिटेडको १७ औं बार्षिक साधारण सभा आश्विन १ गते काठमाडौं बत्तिसपुलतली स्थित होटल इम्पेरीयलमा शेयरधनीहरुको बाक्लो उपस्थितिमा भव्यरुपमा सम्पन्न भएको छ । सुपर मादी हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि १५ प्रतिशत बोनस शेयर र बोनस पश्चात् कायम हुने पुँजीमा २:१ को अनुपातमा (५० प्रतिशत) हकप्रद शेयर (Right Share) निश्कासन गर्ने प्रस्ताव अघि सारेको छ।
कम्पनीका अध्यक्ष धनराज आचार्यले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक साधारण सभा समक्ष प्रस्तुत गरेको सञ्चालक समितिको प्रतिवेदन मार्फत यो विशेष प्रस्ताव सार्वजनिक गर्नुभएको हो।
पुँजी संरचनामा व्यापक वृद्धि
कम्पनीको हाल कायम अधिकृत तथा जारी पुँजी रू. ३ अर्ब ४७ करोड २८ लाख ७५ हजार र चुक्ता पुँजी रू. २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रहेको छ। साधारण सभाबाट प्रस्तावित १५ प्रतिशत बोनस शेयर अनुमोदन भएपछि कम्पनीको चुक्ता पुँजी बढेर रू. २ अर्ब ६६ करोड २५ लाख ३७ हजार ५ सय पुग्नेछ।
बोनस शेयर वितरण पश्चात् कायम हुने कुल २ करोड ६६ लाख २५ हजार ३७५ कित्ता शेयरको आधारमा कम्पनीले ५० प्रतिशत अर्थात् १ करोड ३३ लाख १२ हजार ६८८ कित्ता हकप्रद शेयर निष्कासन गर्ने योजना बनाएको छ।
नयाँ पुँजी संरचनाको रूपरेखा:
| विवरण | हालको स्थिति | बोनस (१५%) पश्चात् | हकप्रद (२:१) निष्कासन पश्चात् |
| चुक्ता पुँजी | रू. २,३१,५२,५०,०००/- | रू. २,६६,२५,३७,५००/- | रू. ३,९९,३८,०६,३००/- |
| शेयर संख्या | २,३१,५२,५०० कित्ता | २,६६,२५,३७५ कित्ता | ३,९९,३८,०६३ कित्ता |
हकप्रद शेयर जारी गरेपछि कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि भई रू. ३ अर्ब ९९ करोड ३८ लाख ६ हजार ३ सय पुग्नेछ। सो पुँजी वृद्धिलाई वैधानिकता दिन कम्पनीको प्रबन्धपत्रको दफा ६ (क), (ख) र (ग) संशोधनका लागि तिनमहले विवरणसहित विशेष प्रस्ताव प्रस्तुत गरिएको छ।
व्यवसायिक सञ्चालन र धन्यवाद ज्ञापन
हाल कम्पनीको प्लान्ट सञ्चालन तथा कर्मचारी व्यवस्थापनको कार्य ‘व्यवस्थापन हाइड्रोपावर मेनेजमेन्ट सर्भिस प्रा.लि.’ सँगको सम्झौता मार्फत दक्षतापूर्वक हुँदै आएको छ।
अध्यक्ष आचार्यले प्रतिवेदनको अन्त्यमा कम्पनीको प्रगतिमा साथ दिने शेयरधनीहरू, नेपाल विद्युत प्राधिकरण, लगानीकर्ता बैंकहरू, बीमा कम्पनीहरू, नियमनकारी निकायहरू, आयोजना प्रभावित स्थानीय बासिन्दाका साथै कर्मचारी तथा लेखापरीक्षकहरूलाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ।














