काठमाडौँ । नेपाल टेलिकमले फिफा विश्वकप २०२६ (FIFA World Cup 2026) लाई लक्षित गर्दै ग्राहकहरूका लागि विशेष ‘TV Package’ उपलब्ध गराएको छ । खेल हेर्ने क्रममा वा प्याकेज खरिद गर्दा आउने प्राविधिक समस्या र जिज्ञासा समाधानका लागि कम्पनीले २४सै घण्टा उपलब्ध हुने सोधपुछ तथा ग्राहक सेवा (सम्पर्क नम्बर) को समेत व्यवस्था गरेको छ ।
प्याकेज खरिद गर्दा कुनै समस्या आइपरेमा वा सोसम्बन्धी गुनासो दर्ता गराउन ग्राहकले सिधै १८८ मा सम्पर्क गर्न सक्नेछन् । यसका साथै, गुनासो सुनुवाइलाई थप प्रभावकारी बनाउन टेलिकमले वैकल्पिक नम्बरका रूपमा ०१-५७७००१९ समेत तोकेको छ । यसरी प्राप्त हुने गुनासाहरूलाई प्राथमिकताका साथ तत्काल सम्बोधन गरिने कम्पनीले जनाएको छ ।
यो विशेष अफर अन्तर्गत सम्पूर्ण NTTV ग्राहकहरूले मात्र रु. ९९९ मा प्याकेज खरिद गरी विश्वकपका रोमाञ्चक खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् ।
नेपाल टेलिकमले आफ्ना उच्च गतिको इन्टरनेट प्रयोगकर्ताहरूका लागि यो प्याकेज निःशुल्क (बोनसका रूपमा) उपलब्ध गराउने भएको छ । वार्षिक १०० Mbps वा सोभन्दा बढी गतिको इन्टरनेट सहित प्रिमियम IPTV प्याकेज (Premium IPTV package) नयाँ जडान गर्ने, नवीकरण गर्ने, वा १०० Mbps मुनिको प्याकेजबाट १०० Mbps वा सोभन्दा माथिको प्याकेजमा अपग्रेड हुने ग्राहकहरूले विश्वकप टिभी प्याकेज बोनसका रूपमा निःशुल्क प्राप्त गर्नेछन् ।
यो बोनस प्याकेज एक्टिभेट गर्न ग्राहकले आफ्नो मोबाइलबाट *१४१६# डायल गरी त्यसपछि ४ थिच्नुपर्नेछ र त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नो सेटअप बक्सको MAC Address उपलब्ध गराउनुपर्नेछ ।
NTTV ग्राहकहरूले आफ्नो टेलिभिजन सेटमार्फत सिधै प्याकेज सुचारु गर्न सक्ने सहज व्यवस्था पनि गरिएको छ । १. टेलिभिजनमा हिमालय स्पोर्ट्स (Himalaya Sports) च्यानल छनोट गरेपछि स्क्रिनमा एउटा छुट्टै इन्ट्री स्क्रिन (Entry Screen) देखिनेछ । २. उक्त स्क्रिनमा नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर राख्नासाथ मोबाइलमा एउटा OTP (One Time Password) कोड आउनेछ । ३. सो OTP लाई टिभी स्क्रिनमा इन्टर गरेपछि ग्राहकको मोबाइल ब्यालेन्सबाट रु. ९९९ कट्टा भई प्याकेज तुरुन्तै सुचारु हुनेछ ।
यसका साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने नजिकैको नेपाल टेलिकमको ग्राहक सेवा केन्द्रमा गएर पनि यो प्याकेज सक्रिय गराउन सक्नेछन् ।














