जेठ १५, काठमाडाैं । स्वास्थ्य बिमा बोर्डले निजी अस्पतालले दिँदै आएको स्वास्थ्य बिमा सेवा स्थगित गरेपछि लाखौँ बिरामी प्रभावित भएका छन् । साथै निजी मेडिकल तथा अस्पतालमा स्वास्थ्य बिमा अन्तर्गत काम गर्ने दुई हजार दुई सय जनाको रोजगारी गुमेको छ ।
सरकारले १९ वटा निजी मेडिकल कलेज र अन्य अस्पताल गरी ३६ वटा निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बिमा स्थगित गरेको छ। स्वास्थ्य बिमाबाट हुने उपचारको ४० प्रतिशत बिरामी निजी स्वास्थ्य संस्थाबाट उपचार गर्दथे । उनीहरूले निजीमा उपचार गराएबापत २० प्रतिशत उपचार बिमाबाहेकबाट खर्च बेहोर्नु पर्दथ्यो ।
स्वास्थ्य बिमा बोर्डमा दैनिक ७० हजार बिरामीको दाबी आउने गर्छ । तीमध्ये ४० देखि ४५ प्रतिशत बिरामी निजी स्वास्थ्य संस्थाका हुन् । स्वास्थ्य बिमा बोर्डकी कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले निजी स्वास्थ्य संस्थालाई स्वास्थ्य बिमाबाट रोक्नुपर्ने निर्णय जटिल भएको बताउनुभयो । “यो निर्णय गर्नु उपयुक्त थिएन,” प्रजापतिले भन्नुभयो “तर बोर्डले बाध्यताले निजी अस्पताललाई सेवा दिनबाट बन्द गर्ने निर्णय गर्नु परेको छ ।”
बोर्डले गत मङ्गलबार सुचना प्रकाशन गरेर जेठ १६ गतेदेखि निजी स्वास्थ्य संस्थाले दिँदै आएको स्वास्थ्य बिमा सेवा स्थगित गर्ने निर्णय गरेको थियो ।















