काठमाडौँ / सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले पदभार ग्रहण गरेका छन् । सिइओ आचार्यले माघ १२ गते पदभार ग्रहण गरेका हुन् ।
सानिमा बैंकको सञ्चालक समितिको निर्णयअनुसार उनी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । २१ वर्षभन्दा बढी समय बैंकमा योगदान पुर्याउँदै आएका आचार्यले संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र भारतबाट इन्जिनियरिङ्गमा स्नातक डिग्री हासिल गरेका छन् ।
प्रमुख कार्यकारी अधिकृत हुनु अघि उनी बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत थिए । आचार्यले बैंकका दशभन्दा बढी विभाग तथा शाखाहरूको नेतृत्व गर्नुका साथै कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन र परियोजना वित्तमा विशेष अनुभव राख्छन् ।
उनी सानिमा क्यापिटलका अध्यक्षसमेत रहेका छन्। बैंकले उनको नेतृत्वमा थप सफलता र प्रतिष्ठा हासिल हुने विश्वास व्यक्त गरेको छ।















