६ पुस, काठमाडौं । वेपत्ता भएको हप्तादिनपछि सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायुलको शव इनारमा फेला परेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीका अनुसार पुस २ गते ललितपुरकाे लुभुमा रहेको कृषिफमको इनारमा हत्या गरी हातखुट्टा बाधेर फालिएको अवस्थामा उनकाे शव फेला परेको छ ।
प्रहरीका अनुसार हायू ललितपुरमा तरकारी फार्म हाउस चलाउँदै आएका थिए । पछिल्लो समय उनी विदेश जाने तयारीमा रहेकेा बताइन्छ । विदेश जाने तयारीमा रहेका हायूले रोल्पाका दीपक थापा मगरलाई उक्त फार्म बेचेको बताइन्छ ।
सोही क्रममा हायू २ पुसमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरफाँटमा रहेको एक इनारमा मृत अवस्थामा भेटिएका थिए ।
२४ मंसिरदेखि हराएको भन्दै परिवारले प्रहरीमा जानकारी गराएका थिए । प्रहरीले हायुको हत्या भएको निष्कर्ष निकालेको छ ।
हत्या आरोपमा एक जनालाई पक्राउ समेत गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धानका काम बाँकी नै रहेको भन्दै प्रहरीले पक्राउ परेका व्यक्तिको विवरण खुलाएको छैन ।
अनुसन्धाका अनुसार टाउकामा प्रहार गरेर हत्या गरेको जस्तो देखिएको छ ।
शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । उनको खुट्टा, मुख टेपले बाँधिएको अवस्थामा भेटिएको थियो ।














