काठमाडौँ, नेपालको निजी क्षेत्रबाट जलविद्युत् विकास तथा प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २९ औँ वार्षिक साधारण सभा आश्विन २७ गते होटल कृस्टल पशुपती, गौशाला काठमाडौंमा शेयरधनीहरुको बाक्लो उपस्थितिमा भब्यरुपमा सम्पन्न भएको छ ।
सभामा प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार कम्पनीले स्थापना कालदेखि जलविद्युत् आयोजनाहरूको पहिचान, सम्भाव्यता अध्ययन, निर्माण र सञ्चालनलाई निरन्तरता दिँदै हालसम्म कुल १२.९४ मेगावाट जडित क्षमताका आयोजनाहरू निर्माण गरी व्यावसायिक उत्पादन गरिसकेको छ।

१. सञ्चालनमा रहेका प्रमुख आयोजनाहरू
- पिलुवा खोला साना जलविद्युत् आयोजना: कोशी प्रदेशको सङ्खुवासभा जिल्लामा अवस्थित ३.०० मेगावाट क्षमताको यो आयोजना कम्पनीको पहिलो निर्माण हो। वि.सं. २०६० साल आश्विन १ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको यस आयोजनाले पहाडी जिल्लाहरूलाई लोडसेडिङमुक्त बनाउन महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
- काबेली बी-१ क्यासकेड जलविद्युत् आयोजना: काबेली खोलामा निर्माण गरिएको ९.९४ मेगावाट क्षमताको यो दोस्रो आयोजनाले वि.सं. २०७८ साल पौष १२ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ।
२. सहायक कम्पनी तथा लगानीका अन्य आयोजनाहरू
कम्पनीको मुख्य लगानी तथा सहायक कम्पनीहरूमार्फत विभिन्न आयोजनाहरू सञ्चालन एवं निर्माणधीन अवस्थामा रहेका छन्:
- अरुण काबेली पावर लिमिटेड: २५ मेगावाट क्षमताको काबेली बी-१ आयोजना वि.सं. २०७६ कात्तिकदेखि सञ्चालनमा रहेको छ।
- रिडि पावर लिमिटेड: कुल २०.३५ मेगावाट जडित क्षमताका ४ वटा आयोजनाहरू सञ्चालनमा छन्।
- हिमालय उर्जा विकास कम्पनी लिमिटेड: कुल १९ मेगावाट जडित क्षमताका २ वटा आयोजनाहरू सञ्चालनमा छन्।
- निर्माणाधीन तथा प्रस्तावित आयोजनाहरू: ताप्लेजुङको काबेली नदीमा माथिल्लो काबेली-२ (१५.० मे.वा.) र सोलुखुम्बुका बुदुम खोला (१४.५० मे.वा.) जलविद्युत् आयोजना निर्माणको चरणमा रहेका छन्। दुवै आयोजनाको ग्रिड कनेक्सन सम्झौता भई नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (PPA) को प्रक्रिया अघि बढेको छ। यसका साथै सहायक कम्पनी पिके हाइड्रोपावर लिमिटेडमार्फत लिखु खोला (३० मे.वा.) जलविद्युत् आयोजना निर्माणको काम भइरहेको छ।
३. सेयरधनीहरूलाई Demat गर्न विशेष अनुरोध
कम्पनीमा वि.सं. २०८३ भाद्र मसान्तसम्म कुल ५६,८८२ जना सेयरधनीहरू रहेका छन्। जसमध्ये ५,३९५ जना सेयरधनीहरूले अझै आफ्नो सेयर भौतिक रूपमै राखेको र अभौतिकीकरण (Demat) गर्न बाँकी रहेकाले यथाशीघ्र सेयर डिम्याट गराउन कम्पनीका अध्यक्ष जिभनराज शाक्यले हार्दिक अनुरोध गर्नुभएको छ।
४. कम्पनीको संक्षिप्त वित्तीय तथा सेयर विवरण
- स्थापना/प्राइभेट लि. मिति: वि.सं. २०५४ फाल्गुण २८
- पब्लिक लिमिटेडमा परिणत: वि.सं. २०६२ भदौं ७
- नेप्सेमा सूचीकृत मिति: वि.सं. २०६६ भदौं १२
- चुक्ता पूँजी: रु. ४०४.०४ करोड
- सुचीकरण भएको सेयर संख्या: ४,०४,०४,०३१ कित्ता
- सेयरको बजार मूल्य: रु. २५५/- (वि.सं. २०८३ असोज १५ गतेको तथ्याङ्क अनुसार)
५. नीतिगत व्यवस्था र सामाजिक उत्तरदायित्व
सभामा अध्यक्ष शाक्यले विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँचसम्बन्धी निर्देशिका संशोधन गरी निजी क्षेत्रलाई विद्युत् व्यापार र अन्तर्राष्ट्रिय व्यापारको अवसर दिएकोमा आभार प्रकट गर्नुभयो।
साथै, भोटेकोशी नदीमा आएको बाढी-विपत्तिको प्राकृतिक संकटमा ज्यान गुमाउनेहरूप्रति श्रद्धान्जली अर्पण गर्दै अध्यक्षले निजी ऊर्जा उत्पादक संस्था (IPPAN) मार्फत प्रभावित आयोजनाहरूको पुनर्नर्मिाण तथा उद्धार कार्यका लागि विपद् क्षति कोष/सामाजिक उत्तरदायित्व कोषको रकम उपयोग गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभएको छ।














