काठमाडौँ। चीनको तिब्बत क्षेत्रबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका पर्यटकीय क्षेत्रमा सञ्चालित होटल तथा रेस्टुरेन्ट व्यवसायमा व्यापक क्षति पुगेपछि उनीहरूको पुनरुत्थान र दिगो पुनःस्थापनाका लागि होटल व्यवसायी महासंघ नेपालले पहल तीव्र बनाएको छ।
यसै क्रममा, महासंघका अध्यक्ष टी.आर. भण्डारी ‘शंकर’ ले नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष अञ्जन श्रेष्ठ तथा FNCCI पर्यटन समितिका पदाधिकारीहरूसँग भेटघाट गरी बाढी प्रभावित होटल, साना रेस्टुरेन्ट तथा खाजाघरहरूको क्षतिको विस्तृत प्रारम्भिक विवरण र नामावली औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको छ।
FNCCI को पर्यटन समितिद्वारा आयोजित विशेष बैठकमा अध्यक्ष भण्डारीले बाढी प्रभावित क्षेत्रमा हाल उद्धारको कार्य सम्पन्न भई राज्यका तर्फबाट तत्काल राहत पुगेको भए तापनि, क्षत-विक्षत बनेका साना तथा मझौला पर्यटन व्यवसायीहरूलाई पूर्ववत् अवस्थामा फर्काउन दीर्घकालीन पुनःस्थापनाको खाँचो रहेको औँल्याउनुभयो।
छलफलका क्रममा महासंघको तर्फबाट निम्न मुख्य मागहरू FNCCI समक्ष प्रस्तुत गरिएको छ:
- आर्थिक पुनरुत्थान प्याकेज: विस्थापित व्यवसायीहरूलाई पुनः स्थापित गर्न विशेष आर्थिक पुनरुत्थान प्याकेज र अनुदानको व्यवस्था गरिनुपर्ने।
- ऋण पुनःसंरचना र ब्याज छुट: प्रभावित व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको पुनःसंरचना, ब्याज मिनाहा वा छुटका लागि सरकारसँग पहल गरिनुपर्ने।
- द्रुत बिमा भुक्तानी: बिमा गराएका व्यवसायीहरूको दाबी रकम तत्काल भुक्तानी दिलाइनुपर्ने।
- साना व्यवसायीलाई राहत: बिमाको पहुँचबाहिर रहेका ग्रामीण भेगका साना होटल तथा खाजाघर व्यवसायीहरूलाई क्षति मूल्याङ्कनका आधारमा विशेष आर्थिक सहयोग प्रदान गरिनुपर्ने।
अध्यक्ष भण्डारीले प्रस्तुत गर्नुभएको विवरण र मागप्रति FNCCI अध्यक्ष अञ्जन श्रेष्ठ तथा पर्यटन समितिले पूर्ण समर्थन जनाउँदै बाढी प्रभावित पर्यटन व्यवसायीहरूको पुनःस्थापना, बिमा दाबी भुक्तानी र वित्तीय सहुलियतका लागि सरकार तथा नेपाल राष्ट्र बैंकसँग सशक्त पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। विपद्को यस कठिन परिस्थितिमा होटल व्यवसायी महासंघ नेपाल प्रभावित क्षेत्रका व्यवसायीहरूको पुनःस्थापना नभएसम्म निरन्तर समर्पित रहने जनाएको छ।














