काठमाडौँ। आजबाट उपत्यकामा एलपी ग्यास पुरानै मूल्यमा पाइने भएको छ। कृष्णभीरमा वैकल्पिक सडक निर्माण भई दुईतर्फी यातायात सञ्चालनमा आएसँगै काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यास आजबाट पुरानै मूल्यमा बिक्री हुने भएको हो।
यसअघि कृष्णभीरमा राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्नुपरेकाले उद्योगीहरूले प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा अतिरिक्त लागत जोडेर ग्यास बिक्री गर्दै आएका थिए।
अब कृष्णभीरमा बाटो सञ्चालनमा आएसँगै आयल निगमले निर्णय गरेर आजबाट साविककै मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम गर्न लागेको हो। ग्यास उद्योगीहरूले पनि आफ्ना डिस्ट्रिब्युटर तथा डिलरहरूलाई सोहीअनुसार ग्यास बिक्री गर्न जानकारी गराउने बताएका छन्।
नेपाल ग्यासका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीचन्द्र भट्टले कृष्णभीरको बाटो सुचारु भएसँगै ढुवानी सहज भएकाले आजबाट पुरानै मूल्यमा ग्यास बिक्री वितरण गरिने जानकारी दिए।
उनले भने, “कृष्णभीरको बाटो खुलेकाले अहिले नेपाल आयल निगमले ग्यासको मूल्य पुरानै कायम गर्ने निर्णय गर्दैछ रआजबाट ग्यास पुरानै मूल्यमा बिक्री हुनेछ। निगमले निर्णय सार्वजनिक गरेपछि हामीले पनि हाम्रा डिलरहरूलाई मेसेजमार्फत सूचना पठाइसकेका छौँ र आजबाट ग्यास साबिककै मूल्यमा उपलब्ध गराउने छौं।”
केही समयदेखि बजारमा देखिएको ग्यासको अभावबारे बोल्दै उनले कृष्णभीरको बाटो अवरुद्ध हुनु र हाफ सिलिन्डरको विषयले सिर्जना गरेको अन्योलका कारण बजारमा केही चाप परेको बताए। अब नियमित रूपमा ग्यास बुलेटहरू आउन थालेपछि आगामी १० देखि १५ दिनभित्रै बजारमा ग्यास आपूर्ति पूर्ण रूपमा सहज हुने उनको भनाइ छ।
गत भदौको बाढी र नदी कटानका कारण कृष्णभीर क्षेत्रमा सडक अवरुद्ध हुँदा उपत्यकातर्फ आउने ग्यास बुलेटलगायत अत्यावश्यक वस्तु बोकेका ठूला सवारीसाधन प्रभावित बनेका थिए। क्षतिग्रस्त सडक नजिकैको ढिस्को काटेर नयाँ ट्र्याक निर्माण गरिएपछि हिजैबाट दुईतर्फी यातायात नियमित भएको हो।














