काठमाडौं । बाढीपहिरोबाट प्रभावित परिवारहरूलाई सहयोग गर्ने उद्देश्यले शाओमी नेपालले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई २०० सेट अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण गरेको छ।
‘शाओमी फर कम्युनिटी’ (Xiaomi For Community) अभियानअन्तर्गत हस्तान्तरण गरिएका यी राहत सामग्रीले हालैको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको दैनिक जीवनमा केही सहजता ल्याउने विश्वास लिइएको छ।
कूल २०० सेट सामग्रीअन्तर्गत जम्मा २०० वटा प्रेशर कुकर, २०० वटा कराई, १,००० वटा प्लेट, १,००० वटा चम्चा, १,२०० वटा कप, १,००० वटा कचौरा र २०० वटा थर्मस बोतल वितरण गरिएको हो। यसबाट बाढीपीडित परिवारलाई दैनिक खाना पकाउन तथा खानपिनका लागि ठूलो राहत पुग्नेछ।
‘दैनिक जीवनको पुनर्निर्माणमा सहयोगी हात’ (A Helping Hand to Rebuild Everyday Life) भन्ने भावनाका साथ यो सहयोग गरिएको कम्पनीले जनाएको छ। शाओमी नेपालले यसअघि पनि भोटेकोशी नदीमा आएको बाढीपीडित नागरिकहरूको राहत, उद्धार तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २० लाख सहयोग गरिसकेको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत विपदको कठिन परिस्थितिमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै आगामी दिनमा पनि उद्धार र पुनर्स्थापनाका प्रयासमा निरन्तर सहयोग जारी राख्ने शाओमी नेपालले प्रतिबद्धता व्यक्त गरेको छ।














