काठमाडौँ। भदौ १० गतेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण रसुवा, धादिङ, नुवाकोट र चितवन जिल्लामा दूरसञ्चार सेवा प्रभावित बनेपछि नेपाल टेलिकमले मर्मत तथा सेवा सुचारु गर्ने कार्यलाई तीव्र बनाएको छ। टेलिकमले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो सेवा सुचारु गर्न प्राविधिक टोली र उपकरण परिचालन गरिएको जनाएको छ।
रसुवा जिल्लामा सञ्चार सम्पर्क पुनःस्थापित गर्नका लागि टेलिकमले न्यौपानेचौर तथा रामचे रिपिटर साइटमा हेलिकोप्टरमार्फत जेनेरेटर, ब्याट्री लगायतका उपकरणहरू पुर्याएको छ। यससँगै न्यौपानेचौर र रामचे आसपासका केस्राङ (काउले), ठूलोगाउँ, तादी, फिकुरी, कालिकास्थान, ग्राङ, डाँडागाउँ, मैलुङ, पाङसाङ डाँडा, लाङटाङ र क्याङजिङ लगायतका क्षेत्रमा सेवा सुचारु भइसकेको छ। साथै धुन्चेमा सेवा सञ्चालनका लागि जेनेरेटर, इन्धन र कर्मचारी परिचालन गरिएको छ।
यसैगरी, नुवाकोट जिल्लाको मदनपुर, बट्टार, विदुर बसपार्क तथा धादिङको बैरेनी ठमेल डाँडामा जेनेरेटर र इन्धनसहित प्राविधिक टोली खटाएर सेवा सुचारु गर्ने क्रम जारी रहेको छ। हाल सञ्चालनमा रहेका बीटीएस (BTS) टावरहरूमा कभरेज र क्षमता विस्तार (अप्टिमाइज) गरी सेवालाई अझ प्रभावकारी बनाउने काम भइरहेको टेलिकमले जनाएको छ।
टेलिकमका अनुसार बाढी-पहिरोका कारण प्रभावित चार जिल्लाका कुल १५२ वटा साइटमध्ये ६० वटा साइट अझै सञ्चालनमा आउन बाँकी छन्:
- चितवन: ५ मध्ये ३ साइट बाँकी
- धादिङ: ३६ मध्ये १३ साइट बाँकी
- नुवाकोट: ७९ मध्ये ३१ साइट बाँकी
- रसुवा: ३२ मध्ये १३ साइट बाँकी
बाँकी रहेका साइटहरूलाई पनि यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक मर्मत कार्य निरन्तर भइरहेको छ।
विपत्तिको यस घडीमा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन नेपाल टेलिकमले सेवाको निरन्तरता, पूर्वसूचना तथा सजगता र प्राविधिक कार्यलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। यस प्रयासबाट प्रभावित क्षेत्रका सेवाग्राहीलाई आफ्ना आफन्तजनसँग सञ्चार सम्पर्क कायम राख्न ठूलो सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ।














