विष्णु गिरी ‘निश्चल’
समाजमा हुने सानातिना विवादहरू औपचारिक न्यायिक प्रक्रियामा जाँदा एकातिर जटिल मुद्दाहरूमा अदालतले पर्याप्त समय दिन नसक्ने अवस्था सिर्जना हुन्छ भने अर्कोतिर न्याय सम्पादनमा ढिलाइ हुन पुग्छ। साना विवादहरूलाई मेलमिलापका माध्यमबाट समाधान गर्न सके समाजमा सुमधुर सम्बन्ध कायम रहन सक्छ, जसमा मेलमिलापकर्ताको भूमिका अत्यन्त महत्त्वपूर्ण मानिन्छ।
न्याय सम्पादनलाई सहज र द्रुत बनाउन स्थानीय तहदेखि सर्वोच्च अदालतसम्मै मेलमिलाप केन्द्रहरूको स्थापना गरिएको छ। विवाद समाधानका विभिन्न उपायहरूमध्ये मेलमिलापलाई सबैभन्दा सर्वोत्तम विकल्पका रूपमा लिइन्छ। विवादका पक्षहरूबीच निष्पक्ष र तटस्थ तेस्रो पक्ष (सहजकर्ता) को सहयोगमा छलफल गराई मान्य सहमतिमा पुग्ने ऐच्छिक र गोपनीय प्रक्रिया नै मेलमिलाप हो।
मेलमिलापकर्ता भनेको के हो?
विवादका पक्षहरूबीच सहज वातावरण सिर्जना गरी समझदारी कायम गराउन र विवाद सुल्झाउन प्रेरित गर्ने तटस्थ व्यक्ति वा संस्थालाई मेलमिलापकर्ता भनिन्छ।
सामान्यतया पारिवारिक विवाद, लेनदेन, जग्गाजमिनका देवानी मुद्दा, सानातिना कुटपिट तथा व्यापारिक विवादमा मेलमिलाप प्रक्रिया अपनाउन सकिन्छ। तर, नेपाल सरकारवादी हुने गम्भीर प्रकृति फौजदारी मुद्दाहरूमा भने मेलमिलाप गराउन मिल्दैन।
तालिमप्राप्त, सूचीकृत व्यक्तिहरूका साथै समाजमा पत्याइएका र समझदार व्यक्तिहरूले पनि सहजकर्ताको भूमिका निर्वाह गर्न सक्छन्। मेलमिलापकर्ताले कुनै पनि पक्षको वकालत गर्दैनन् र कानुनी सल्लाह पनि दिँदैनन्; उनीहरूले केवल दुवै पक्षलाई सहमतिमा पुग्न सहजीकरण गर्छन्।
मेलमिलापका मुख्य फाइदाहरू
समय र खर्चको बचत: प्रक्रिया छिटो र छरितो हुने भएकाले दुवै पक्षको समय र पैसा बचत हुन्छ।
‘जीत-जीत’ को अवस्था: दुवै पक्षको चित्त बुझ्ने गरी विवाद टुंग्याइने हुनाले कसैको पनि हार हुँदैन।
गोपनीयता र सुमधुर सम्बन्ध: प्रक्रिया गोपनीय रहने र आपसी सहमतिमा आधारित हुने हुँदा समाजमा शान्ति र सद्भाव कायम रहन्छ।
अदालतको कार्यबोझमा कमी: साना विवादहरू बाहिरै सुल्झिँदा अदालतमा मुद्दाको चाप घट्छ।
अदालतको निर्णय सरह नै मान्यता पाउने ‘मिलापत्र’ दुवै पक्षको राजीखुसीबाटै तय हुने भएकाले यसको कार्यान्वयन पनि सहज हुन्छ। पूर्वाग्रहमुक्त, तटस्थ र सक्रिय मेलमिलापकर्ताको माध्यमबाट अघि बढेको यो पद्धतिले समाजलाई मेलमिलापयुक्त र शान्तिमय बनाउन ठूलो सहयोग पुर्याउँछ।
(लेखक गिरी मेलमिलापकर्ता तथा अधिवक्ता हुनुहुन्छ।)















