काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको बृहत् सम्मेलन ‘डिजिटल नेपाल कन्क्लेभ’को पाँचौँ संस्करण आगामी भाद्र ११ गते बिहीबार ललितपुरस्थित द प्लाजामा आयोजना हुने भएको छ। आईसीटी फाउन्डेसन नेपालको आयोजनामा हुने यस कन्क्लेभको मूल नारा ‘रिइम्याजिनिङ गभर्नेन्स, डेटा एन्ड द डिजिटल इकोनोमी’ (शासन, डेटा र डिजिटल अर्थतन्त्रको पुनर्कल्पना) रहेको छ।
डिजिटल रूपान्तरण र डिजिटल इकोसिस्टम विकासको मुख्य एजेन्डामा केन्द्रित रही यो कन्क्लेभ विगत ५ वर्षदेखि आयोजना हुँदै आएको छ। यस वर्ष नयाँ सरकारले सुशासन, डेटामा आधारित गभर्नेन्स र डिजिटल इकोनोमीलाई दिएको प्राथमिकतालाई ध्यानमा राख्दै बृहत्तर छलफल गरिनेछ।
कार्यक्रमका प्रमुख आकर्षण र संरचना:
- सत्र तथा संवाद: कार्यक्रममा ३ वटा भन्दा बढी कि-नोट प्रस्तुति, ५ वटा विषयगत प्यानल संवाद, र १ वटा ‘पावर संवाद’ सेसन सञ्चालन हुनेछन्।
- डिजिटल स्पार्क (इनोभेसन प्रस्तुति): १० भन्दा बढी स्वदेशी डिजिटल इनोभेसनहरूको प्रस्तुति रहनेछ।
- सहभागिता: नेपाल सरकारका उच्चस्तरीय प्रतिनिधि, मन्त्रीहरू, सांसदहरूका साथै अन्तर्राष्ट्रिय विज्ञहरूसहित ५०० भन्दा बढीको प्रत्यक्ष सहभागिता रहनेछ।
- प्रविधि प्रदर्शनी: नेपाली प्रविधिहरू ‘टिङटिङ’ र ‘थर्डफ्याक्टर एआई’को विशेष सहकार्य रहनेछ। यसका साथै टिङटिङ ओम्नी लाइभ इन्टरेक्शन, आउटबाउन्ड र रेस्पोन्सिभ एजेन्टका साथै अन्य २० भन्दा बढी स्वदेशी प्रविधिको प्रत्यक्ष प्रदर्शनी हुनेछ।
मुख्य ३ रणनीतिक विषयहरू:
- गभर्नेन्स एन्ड डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर: संस्थागत डिजिटल सुधार, नागरिककेन्द्रित स्मार्ट सेवा, एकीकृत डिजिटल आईडी, नीतिगत नवप्रवर्तन र डेटामा आधारित निर्णय प्रक्रिया।
- डेटा, एआई एन्ड साइबरसिक्युरिटी: राष्ट्रिय डेटा सार्वभौमिकता, एआईको नैतिक प्रयोग, साइबर सुरक्षा, डिजिटल ट्रष्ट र डेटा इन्टरअपरेबिलिटी।
- डिजिटल इकोनोमी एन्ड इनोभेसन: डिजिटल रूपान्तरणका लागि लगानीका सम्भावना र आवश्यक डिजिटल जनशक्तिको विकास।
- राजनीतिक प्रतिबद्धता: अन्तिम सत्रमा डिजिटल नेतृत्व र रूपान्तरणका लागि राजनीतिक प्रतिबद्धताबारे छलफल हुनेछ।
‘सस्तो टिकट’ र ‘फोन पे’ पावर्ड बाईको रूपमा रहेको यस कार्यक्रममा नेपाल टेलिकम, एनसेल बिजनेसलगायत विभिन्न प्राविधिक तथा निजी क्षेत्रका संस्थाहरूको सहकार्य रहेको छ।
आयोजक फाउन्डेसनका अध्यक्ष राजन लम्सालका अनुसार, सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय निकायहरूलाई एउटै मञ्चमा ल्याएर नीतिगत सुधार, कार्यान्वयन र स्वदेशी प्रविधिलाई प्रवर्द्धन गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो। कार्यक्रममा सहभागी हुन इच्छुकहरूले आधिकारिक वेबसाइट www.digitalconclave.org मार्फत टिकट खरिद गर्न सक्नेछन्।















