बारा जिल्लाको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको विभत्स हत्या तथा देशका विभिन्न स्थानमा विभिन्न समयमा बालिका तथा किशोरीमाथि भइरहेका बलात्कार, यौन दुर्व्यवहार, हिंसा र अनलाइन हिंसाका घटनाप्रति बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)को गम्भीर ध्यानाकर्षण भएको छ।दिवंगत गरिमा चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ ।
यस्ता घटना नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन, २०७५, मुलुकी अपराध संहिता, २०७४ तथा नेपाल पक्ष राष्ट्र भएको बालअधिकार सम्बन्धी महासन्धि (CRC) लगायतका कानुनी तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत छन्।बालबालिकामाथि हुने हिंसा, शोषण र दुर्व्यवहारबाट संरक्षण गर्नु राज्यको प्रमुख दायित्व हो।
सिजप नेपाल सरकार तथा सम्बन्धित निकायसँग निम्न माग गर्दछः
• घटनाको निष्पक्ष र शीघ्र छानविन गरी दोषीलाई कानूनबमोजिम कारबाही गरियोस्,
• पीडित तथा परिवारलाई न्याय, निःशुल्क कानुनी सहायता, स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श उपलब्ध गराइयोस्,
• बालिका तथा किशोरीसहित सबै बालबालिकाले घर, विद्यालय, सार्वजनिक स्थल तथा अनलाइनमा सुरक्षित वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गरियोस्,
• विभिन्न समयमा बालबालिका माथि हुने गरेका यस्ता हिंसा, दुर्व्यवहार, बलात्कार र शोषण लगायतका घटनाको निष्पक्ष छानविन गर्न उच्चस्तरीय सम्यन्त्र वा राष्ट्रिय बाल अधिकार आयोग गठन गरियोस्,
• स्थानीय तह तथा विद्यालयमार्फत बालअधिकार, कानुनी साक्षरता र अभिभावक शिक्षालाई प्रभावकारी बनाइयोस्,
• राष्ट्रिय मानव अधिकार आयोग तथा सम्बन्धित निकायबाट यस्ता घटनाको प्रभावकारी अनुगमन गरियोस्,
• सबै संचार माध्यमहरू पीडितको गोपनीयता र बाल मनोविज्ञानप्रति संवेदनशीलतामा ध्यान दिइयोस्,
• घटनासँग सम्बन्धित विभत्स तस्बिर, भिडियो, शवका दृश्य तथा पीडित बालिका वा किशोरीको पहिचान खुल्ने फोटो, नाम वा अन्य व्यक्तिगत विवरण सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा सार्वजनिक नगरियोस्,
• त्यस्ता विभत्स दृश्यहरू बालबालिकालाई नदेखाउन तथा सामाजिक सञ्जालमा शेयर/प्रसार नगर्न अभिभावक, सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछौँ। यस्ता सामग्रीको अनियन्त्रित प्रसारले पीडितको गोपनीयता तथा सम्मानको अधिकारमा असर पार्नुका साथै अन्य बालबालिकामा डर, त्रास र मनोसामाजिक असर पर्न सक्ने भएकाले विशेष संवेदनशीलता अपनाइयोस्,
• बालबालिकामाथि हुने हिंसा अन्त्य गर्नु राज्य र समाजको साझा जिम्मेवारी हो। हरेक बालबालिकाले भय, हिंसा र दुर्व्यवहारमुक्त वातावरणमा सुरक्षित, सम्मानित र मर्यादापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सिजप समस्त सरोकारवालासँग माग गर्दछ।

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:














