- अनिल पाैडेल
चैत २५ । पछिल्लो समय सामाजिक सञ्जालहरू विशेषगरी फेसबुक र युट्युब मार्फत हुने पत्रकारिता तीव्र रूपमा विस्तार हुँदै गएको छ। सूचना प्रवाहको सहजता र प्रविधिको पहुँचले धेरैलाई आफ्नो विचार र समाचार प्रस्तुत गर्ने अवसर दिएको छ, जुन लोकतान्त्रिक समाजका लागि सकारात्मक पक्ष हो। तर, पत्रकारिताको नाममा गैरजिम्मेवार, अमर्यादित र स्वार्थप्रेरित गतिविधिहरू हुन पत्रकारिताकाे चरम दुरूपयाेग हाे ।
यस्ता प्रवृत्तिमा संलग्न व्यक्तिहरूले आफ्नो पहुँच र परिचयको दुरुपयोग गर्दै विभिन्न व्यक्तिहरूलाई धम्की दिने, प्रलोभनमा पार्ने, वा आफ्नाे स्वार्थअनुसार सामग्री प्रकाशित गर्न दबाब दिने जस्ता कार्यहरू गरिरहेका घटनाह बढ्दै गएका छन्। यसले पत्रकारिताको मूल मर्म सत्य, निष्पक्षता र जनउत्तरदायित्वलाई कमजोर बनाइरहेको छ।
अझ गम्भीर पक्ष भनेको, पार्टीको मुखपत्र जस्तो भएर पार्टीको मात्रै बखान गर्ने शैलीकाे पत्रकारिता आधुनिक समाजका लागि हानिकारक हुन्छ , जुन पत्रकारिताको सिद्धान्त भन्दा नितान्त फरक हुन्छ । जहाँ पार्टीका कमिकमजाेरी लुकाउनका लागि पत्रकारिताकाे दुरूपयाेग भइरहेकाे हुन्छ ।
यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूले स्थानीय वा उच्च पदस्थ व्यक्तिहरूसँग मिलेमतो गर्दै उनीहरूको पक्षमा मात्र सामग्री उत्पादन गर्ने, कमजोरीहरू लुकाउने, र पहुँचको दुरुपयोग गरेर व्यक्तिगत लाभ लिने गदर्छन् । यसले पत्रकारितालाई जनउत्तरदायित्वको माध्यम बनाउनुको सट्टा दलाली, चाकरीबाजी र स्वार्थपूर्तिको साधनतर्फ धकेलिरहेको छ।
तर, यहाँ एउटा महत्त्वपूर्ण पक्ष बुझ्न जरुरी छ । मुख्य पत्रकारिता यस्ता विकृत अभ्यासहरूको ठीक विपरीत उभिएको छ। मुख्य पत्रकारिता सत्यतथ्यमा आधारित, प्रमाणसहित, निष्पक्ष र जनहितमुखी हुन्छ। यसले कुनै व्यक्तिको दबाब वा प्रलोभनमा नपरी समाजलाई सही सूचना दिने, गलत कार्यहरूको पर्दाफास गर्ने र राज्य तथा नागरिकबीच उत्तरदायित्व कायम गर्ने काम गर्छ। यही नै पत्रकारिताको वास्तविक आधार र पहिचान हो, जसलाई जोगाउनु आजको आवश्यकता हो।
पत्रकारिता समाजलाई सचेत, सुसंस्कृत र उत्तरदायी बनाउने एक महत्त्वपूर्ण माध्यम हो। तर जब यही माध्यम व्यक्तिगत स्वार्थ, डर–त्रास र अनुचित लाभको साधन बन्छ, तब यसले समाजलाई सकारात्मक दिशातर्फ लैजानुको सट्टा विकृतितर्फ धकेल्ने खतरा रहन्छ।
यस सन्दर्भमा, सम्बन्धित नियामक निकायहरूले यस्ता गतिविधिहरूलाई गम्भीरतापूर्वक लिएर अनुगमन र नियमनको स्पष्ट व्यवस्था गर्न जरुरी देखिन्छ। भ्रामक सूचना प्रवाहलाई पूर्ण रूपमा नियन्त्रण गर्नु सम्भव नभए पनि, न्यूनतम मापदण्ड, आचारसंहिता र सामाजिक उत्तरदायित्वको दायरामा ल्याउने नीति निर्माण र त्यसकाे पूर्ण कार्यान्वयन र अनुगमन अत्यावश्यक भइसकेको छ।
सरकारले यथाशीघ्र स्पष्ट नीति तथा कानुनी संरचना तयार गरी यस्ता विकृत प्रवृत्तिलाई नियन्त्रण गर्न कदम चाल्नुपर्छ। साथै, सच्चा र जिम्मेवार पत्रकारहरूलाई प्रोत्साहन गर्ने र गलत प्रवृत्तिलाई निरुत्साहित गर्ने सन्तुलित वातावरण निर्माण गर्नु पनि उत्तिकै आवश्यक छ।
यदि समयमै यस्तो कदम चाल्न सकिएन भने, पत्रकारिताको नाममा फैलिँदै गएको विकृति अझ बढ्दै जानेछ र यसको प्रत्यक्ष असर समाजको नैतिकता, विश्वास र समग्र विकासमा पर्नेछ। त्यसैले, अहिले नै सजग भई पत्रकारितालाई पुनः मर्यादित, जिम्मेवार र विश्वसनीय बनाउन पहल गर्नु आजको आवश्यकता हो।















