महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकको आयोजनामा १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता माघ २४ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा आयोजकको १ सहित ८ टिमको सहभागिता रहने आयोजक मञ्चका महासचिव पेम्बा छिरी शेर्पाले मंगलबार आयोजित पत्रकार सम्मेलन जानकारी गराए । सहभागी टिमहरुमा आयोजक महेन्द्र ज्योति, नाम्चे युथ ग्रुप, खुम्जुङ युथ ग्रुप, खुन्दे कम्युनिटी क्लब, ठमिछेवा फुटबल क्लब, थामे, अमादब्लाम युथ ग्रुप, पाङ्बोचे, खुम्बु याङबु शेर्पा समाज र खुम्बु युनाइटेड रहेका छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
नयाँ वर्ष ग्याल्बो ल्होसार में त लो २१५३ को पावन अवसरमा हुन लागेको प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ लाख ५० हजार, ८० हजार र ४० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजक मञ्चका उपाध्यक्ष फुरी शेर्पाले जानकारी दिए । विधागत उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।
पत्रकार सम्मेलनमा आयोजक मञ्चका अध्यक्ष फुर गेल्जे शेर्पाले प्रतियोगिताले खुम्बु पासाङ ल्हामु गाउँपालिका भित्रका समुदायलाई फुटबल मार्फत एकताबद्ध गर्न महत्वपूर्ण भूमिका खेलेको बताउदै ल्होसार पर्व र फुटबल प्रतियोगिता युवा र समुदायलाई जोड्ने साझा उत्सवका रुपमा स्थापित भइसकेको बताए ।
प्रतियोगिताको मुख्य प्रायोजकमा १४ पिक्स एक्सपेडिसन प्रा.लि., सह–प्रायोजकमा होली एभरेष्ट प्रा.लि. र खुम्बु पासाङ गाउँपालिका रहेका छन् भने विभिन्न संस्थाले पनि सहयोग गर्ने महासचिव शेर्पाले बताए । खेलहरु सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा खेलाइने छ ।
सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौंमा बसोवास गरिरहेका शेर्पा युवाहरुले जाडोयामको फुर्सदिलो समयलाई सदुपयोग गर्ने उद्देश्यले सन् २००९ मा ल्होसारको अवसरमा फुटबल प्रतियोगिताको सुरुआत गरिएको थियो ।

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:













