काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८ औँ वार्षिक साधारण सभा कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ का उपलब्धि, चुनौती र आगामी रणनीति विषयक विभिन्न एजेन्डाहरू पारित गरेको छ।
सभामा अध्यक्ष सिंहले विश्व अर्थतन्त्र कोभिड र भूराजनीतिक प्रभावपछि क्रमशः सुधारतर्फ उन्मुख भइरहेको बताइन्। नेपालमा २०८१/८२ मा आर्थिक वृद्धि दर ४.६१ प्रतिशत रहने अनुमान भए पनि २०८२/८३ मा राजनीतिक तथा सामाजिक अनिश्चितताले आर्थिक गति प्रभावित हुन सक्ने धारणा व्यक्त गरियो।
कम्पनीका अनुसार समिक्षा वर्षमा बीमा शुल्क १०.२६ प्रतिशतले बढ्दै कूल रु. २,२५९.३७ करोड पुगेको छ। सो अवधिमा बीमा करार दायित्व १८.८३ प्रतिशतले बढेर वर्षान्तसम्म रु. ९,४५८.७७ करोड पुगेको छ। कम्पनीले मृत्यु, परिपक्वता तथा अन्य दाबी शीर्षकमा कूल रु. ९४८.६५ करोड भुक्तानी गरेको छ।
नेशनल लाइफले लगानी योग्य सबै रकम बीमा प्राधिकरणको निर्देशनअनुसार पारदर्शी र दीर्घकालीन सम्भावना भएका क्षेत्रमा गरिएको जनाएको छ। कम्पनीको कुल लगानी ११.०४ प्रतिशतले बढेर रु. ७,७९०.२० करोड पुगेको छ भने औसत प्रतिफल दर ८.७६ प्रतिशत रहेको छ।
कम्पनीले सोही अवधिमा हिमालयन बैंक लिमिटेडको २.८ करोडभन्दा बढी संस्थापक शेयर खरिद गरी बैंकमा आफ्नो स्वामित्व १३.६१ प्रतिशतमा पुर्याएको जानकारी दिएको छ। कम्पनीले प्रवर्द्धन गरेको नेशनल क्यापिटल लिमिटेडले पहिलो वर्षमै ७ प्रतिशत नगद लाभांश वितरण गरेको छ।
इटहरीमा नयाँ व्यापारिक भवन निर्माण, प्रविधि अभिवृद्धि तथा कर्मचारी प्रशिक्षणका कार्यक्रमलाई पनि कम्पनीले प्राथमिकतामा राखिरहेको बताइएको छ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले स्वास्थ्य र शिक्षा क्षेत्रमा केन्द्रित भएर समिक्षा वर्षमा रु. ७० लाख २५ हजार सहयोग गरेको छ। सो मध्ये रु. २५ लाख प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा, तथा रु. २५ लाख बाल स्वास्थ्य उपचार परियोजनामा विनियोजन गरिएको छ।
सभाले ८.५ प्रतिशत नगद तथा ४ प्रतिशत बोनससहित कुल लाभांश पारित गरेको छ। लाभांश वितरणपछि कम्पनीको चुक्ता पूँजी रु. ५.६९ अर्ब पुगेको छ, जसले जीवन बीमा कम्पनीका लागि राखिएको न्यूनतम चुक्ता पूँजी मापदण्ड नाघ्ने जनाएको छ।
अध्यक्ष सिंहले आगामी वर्षहरूमा कम्पनीले बीमा सेवा विस्तार र जनविश्वास वृद्धिमा अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन्।














