काठमाडौँ । यम–पञ्चकको दोस्रो दिन आज कुकुर तिहार हो । ‘नरक चतुर्दशी’ पनि भनिने यो पर्वमा कुकुरको सम्मानका लागि पूजाआजा गरी शीरमा टीका र गलामा फूलमाला लगाइन्छ।
सिंगो आर्य समाजले नभइ तिहार नेपालीहरुले मनाउने पर्व हो । यसका अलवा सुगौली सन्धी अघिको नेपाल अर्थात् वर्तमान भारतको दार्जिलिङ, सिक्किम, उत्तराखण्ड र हिमाचल प्रदेशका केही भागमा पनि यम–पञ्चक मनाइन्छ ।
यसबाहेक नेपालीहरु रहेका विदेशका विभिन्न स्थानमा तिहार मनाउने गरिएको छ । नेपाली संस्कृतिलाई विश्वमा प्रसार गर्नमा कुकुर तिहारको विशेष महत्व देखिएको छ । किनकी, नेपालीहरुले यो ‘अनौठो’ पर्वबाट उत्प्रेरित भएर संसारभरका कुकुरलाई मायाँ गर्ने मानिसहरु र मुख्यतया पशु अधिकार क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले पनि कुकुरको सम्मानमा विभिन्न कार्यक्रम गर्न थालेका छन् ।
कुकुर तिहारलाई ‘नरक चतुर्दशी’ पनि भनिन्छ । यस दिन स्नान नगरी भोजन गरेमा नर्कमा परिन्छ भन्ने जनविस्वास छ । कृष्ण पक्षको चतुर्दशी तिथिलाई मन पीडित हुने बेलाका रुपमा पनि बुझिन्छ । पूर्णीमामा मन सबैभन्दा प्रफुल्ल हुने र औँशीमा सबैभन्दा पीडित हुने ज्योतिष शास्त्रीय मतहरु पाइन्छ । योग अभ्यास सुरु गर्नेहरु औँशीलाई मन स्थिर बनाउने मौकाका रुपमा बुझ्छन् । त्यसैले मन पीडित हुँदा आफ्नो साथ र सुरक्षा दुबै दिनेवाला कुकुरलाई प्रेमपूर्वक पूजा, आरती गर्दा मानसिक शक्तिमा बृद्धि हुन्छ ।
कुकुर तिहारको मुख्य उद्देश्य उसको महत्वलाई बुझ्ने र बुझाउने हो । परापूर्व कालदेखि नै मानिसको साथिका रुपमा कुकुरले निर्वाह गर्दै आएको भूमिकाप्रति कृतज्ञता अर्पण गर्ने र स्नेह दर्शाउने पर्व पनि यही हो । कुकुरको निस्वार्थ सेवा र बफादारीप्रति सम्मान गर्दै मानवसँगको सम्बन्ध थप प्रगाढ बनाउन यो पर्वले महत्वपूर्ण योगदान गर्छ ।
तिहारमा पाल्तु वा आवारा जेसुकै भए पनि सबै कुकुरलाई समान रुपमा सम्मानजनक व्यवहार गरिकन पूजा गर्ने गरिन्छ । यसका लागि कुकुरलाई शीरमा तीलक लगाइदिने, चन्दन अक्षता र फूलले पूजा गर्ने, माला लगाइदिने र स्वादिष्ट भोजन खुवाउने गरिन्छ । यस तिहारले कुकुरलाई हाम्रो परिवार र समाजमा उसको महत्व बुझ्न सघाउँछ ।