- मनऋषि धिताल
यो कथा हरेक वर्ष दोहोर्याउने छु उनको पत्तो नलागेसम्म ।
कोहि कोहि जीवनमा एक पटक मात्र भेटिन्छन र गहिरो छाप छोडेर जान्छन । यो धर्तिमा ती छन् कि छैनन् कहिलै थाहा हुदैन । सूचनाका जतिसुकै महामार्गहरु खुलेपनि ती सम्म पुग्ने सुरुङ्ग पत्ता लाग्दैन ।
क्यानडाको मोण्ट्रियल शहरबाट सन् १९८७/८८ तिर जुम्लामा आइ भाषा बिज्ञानमा खोज अनुसन्धान गरेकी लाइसि दिदि अहिले कहाँ होलिन ?
उनले भनेका कुरा हुन् वा मेरो सपना हो, “उनि समाजशास्त्रमा स्नातकोत्तर गर्न त्रिभुवन विश्वविद्यालय आइन र जुम्ला रोजिन । काठमाडौँ आवोत जावोत गर्ने जुम्लाका त्यो बेलाका युबा नेता ललितजंग शाहीको सम्पर्कमा आइन र सिंजा जाने निधो गरिन ।
उनले धिताल लिहीकि ललितजंग शाहीकि दिदि (मेरी मितिनी/संगिनी आमा) नाता पर्ने खुम्मेनी रोकायाको सम्पर्कमा पठाए । त्यो बेला हामी पढ्ने डाडामाथिको मोफ्ला स्कूलबाट तल मूल बाटोमा झर्दा धाराको छेउमा खाना बनाइरहेका एक पथप्रदर्शक र त्यो भन्दा पहिले कहिले पनि नदेखेकी अग्ली गोरी आखा र कपाल पनि अनौठो रंगको भएकी एक महिला देखेका थियौ ।
साझ परेपछि ति अचम्मकी महिला बास सोध्दै खुरुखुरु खुम्मेनी आमाकोमा आइन । खुम्मेनी आमा हाम्री मितिनी आमा पनि हुन् । उनी तिनलाई देखेपछि डराइन र भनिन, यिनलाई देखेपछि मेरी छोरीहरु डराउछिन मत राख्न सक्दिन ।
त्यसपछि खैलाबैला भयो गाउमा । त्यसो त हिउँदको समय गाँउमा महिला र हामी केटाकेटी मात्रै थियौ । उनले पुरुष नभएको घरमा बस्ने भनेकी थिईन । खुम्मेनी आमाकी दुइ छोरी विश्ना र राधा मात्रै थिए तर त्यहा नहुने भएपछी अलि धार्मिक स्वोभावकि लजिसरा धितालले (मेरो फुपू नाता पर्ने) ति अनौठी महिलालाइ भगवान हुन् भन्दै आफ्नो घरमा राख्ने भईन ।
ति थिईन, लाइसि दिदि । शुद्द नाम के पो हो अझै थाहा छैन । तिनले आफ्नो बस्ने कोठामा रेडियो बजाइन, हामीले रेडियो छोयौ ।
तिनले राति अध्यारोमा हामीलाई टर्च छुन दिईन, बालेर झिलिमि बनाउदै अचम्मित बनाइन । मैनबत्ती बालेर उनले लेखपढ गरेको देखियो । उज्यालो दिने दियालोको विकल्प पनि हुन्छ भन्ने देख्दा हामी कम्ति अचम्मित भएनौ ।
उनका दिन बित्त्दै गए । लाहुरे जेठाबाले देउता थानमा पढाएको कपुरी ‘क’ को जगमाथि लाइसि दिदिले आफ्नै कोठामा बोलाएर हामीलाई अंग्रेजीको ‘ए’ थपिन । क्रमश उता ‘ज्ञ’ र एता ‘जेड’ सम्म जान्ने भयौ ।
उनि मलाइ गाँउ भन्दा टाढा रोकाया बाडाको धारामा आफु नुहाउन जादा संगै लैजान्थिन र चिप्लो चिप्लो डल्लोले मेरा हात मुख धोई दिन्थिन । त्यो साबुन हो भन्थिन । उनि नुहाए पछि पारिलो घाममा धारा नजिकको ढुंगामा मस्त निदाउथिन र म उनको सुरक्षाकोलागि जागा बस्थे ।
कहिलेकाही हाम्रोमा आउथिन, आमाले तताएको ‘घोडामच्चो’ भन्ने जडिबुटीको झोल पिउथिन र भन्थिन, चिया मिठो छ । उनले त्यसलाई “चिया” मानिन । र, हामीले ‘चिया’ भन्ने अर्को पनि केहि हुन्छ भन्ने थाहा पायौ ।
उनले एकदिन हामी दुइभाइ, आमा र दिदिलाइ हाम्रो स्याउको रुखमुनी उभिन भनिन । भाइ आमाको काखमा बस्यो । दिदि र म आमासंगै उभियौ । लाइसी दिदिले अलिपरबाट एक आँखा चिम्लेर अर्को आँखाले हेर्दै कुन्नि के झिल्लिकै पारिन । त्यो सकेर हाम्रो छेउ आइन गुड हालेको घोडामच्चो पिइन र भनिन, यो क्यामेरा हो, मैले सबैको फोटो खिचे ।
त्यसपछि हाम्रो जीवनमा आँधीबेहरी आयो , फागुन लागेपछि आमाको निधन भयो । चैत लागे पछि लाइसी दिदि फर्किन । मङ्सिर लागे पछि हामी सदाकालागि तराइ झर्यौ । त्यस पछिका पैतिस बर्ष बितिसक्दा न ति दिदि भेट भएकी छिन , न उनको केहि खबर पाउन सकेको छु । हाम्रो जीवनको पहिलो र मेरी आमाको जीवनको पहिलो र अन्तिम फोटो कस्तो थियो होला ? यो प्रश्नको उत्तर अझै पाएको छैन । आमा र लाइसी दिदि दुवैको अनुहार पनि त अब बिर्सी सकियो ।
क्यानाडा तिरका साथीहरुलाइ खोज्न भने , काठमान्डौंमै कति खोजे मैले अझै कुनै पत्तो लगाइन । आज उनको सम्झना आयो । र, यी शब्द लस्कर लागे – “कोहि कोहि जीवनमा एक पटक मात्र भेटिन्छन र गहिरो छाप छोडेर जान्छन । यो धर्तिमा ति छन् कि छैनन् कहिलै थाहा हुदैन ।
सूचनाका जतिसुकै महामार्गहरु खुलेपनि ति सम्म पुग्ने सुरुङ्ग पत्ता लाग्दैन ।”
त्यो बेला बीसवर्षकी लाइसी दिदि अहिले पचपन्न वर्ष काटिन । कसैले भेट्नु भो भने भनिदिनुस है, लाइसी ! अनकन्टार पाखा र अध्यारा खोल्सामा तिमि मस्त निदाउदा तिम्रो अस्मिताको गोठालो बस्ने त्यो “सिगाने” भाइले झल्झली सम्झी रहेको छ । जीवनको त्यो पहिलो फोटो फिर्ता देउ रे ! मेरी आमाको र तिम्रो अनुहार कस्तो थियो एकपटक हेर्न मन लाग्यो, सौराइ मेट्न मन लाग्यो ।
नेपाली समाज राम्रो पढ्नु भएकी अमेरिकाबासि समाजशास्त्री मेरि डेशेनलाइ हृदय देखि नै धेरै धेरै धन्यवाद । उहाले अमेरिकामा रहेर लाइसि दिदिको खोजि गर्ने भरमग्दूर कोशिश गर्नु भयो ।
यी चित्रहरु बर्षमा एक पटक राख्ने गर्छु । मेरी ठुली दिदिसंग आमाको अनुहार ठ्याक्कै मिल्ने भनिएकाले साथि देबेन्द्र थुम्केलीले दश बर्ष अघि बुवाको निधन वरीपरि शोक मनाउन आएकी दिदिलाइ हेरेर बनाइ दिनु भएको चित्र, अस्ट्रेलिया निवाशी चित्रकार मित्र पेन्टर कृष्णले बनाएको चित्र, इनर्वेस्ट सिड्नीको लाइकार्ट स्थित मेमोरियल पार्कमा फुलेको गुलाफ ।
एक पटक सिड्नीको लाइकार्ट स्थित मेमोरियल पार्कमा कामबाट फर्केर शहर जाने बस कुर्दै थिए । बिश्राम स्थलमा एक महिला आइन । आखा जुझ्ने हरेक मानिस संग बोल्ने मेरो बानि थाम्न सकिन, उनले मलाइ कुन एसियाली मुलुकको हौ ? भनेर सोधिन । मैले “नेपाल” भने पछी उनले आफु नेपाल गएको र नेपाल निक्कै सुन्दर देश भनेर आफ्नो नेपाल घुमफिरको सम्झना भन्न थालिन ।
उता उनको बस आइपुग्नु र मैले उनको ओरिजिन देश सोध्नु एक्कै पटक भयो । उनले न्युजिल्याण्डबाट अस्ट्रेलिया बसाइ आएको तर आफु खासमा क्यानाडाको भएको बताइन र गाडीमा उक्लिन ।
मेरो गन्तब्यको गाडी त्यो थिएन, एक पटक उनीसंग अलि पर सम्म जाउ जस्तो लाग्यो तर म गाडीमा उक्लन सकिन , नजिकको पार्कमा फुलेको गुलावको फोटो लिए र कतै लाइसी यीनै पो हुन् कि सोच्दै यी बाक्य लेखे, “कोहि कोहि जीवनमा एक पटक मात्र भेटिन्छन र गहिरो छाप छोडेर जान्छन । यो धर्तिमा ती छन् कि छैनन् कहिलै थाहा हुदैन ।”
के लाइकार्टमा भेटिएकी तिनै लाइसी दिदि त होइनन, त्यो गुलावले पनि बोलेन तर सम्झना उसको रंग र सुगन्धले अहिले पनि गराइरहन्छ ।