जेठ २७, काठमाडाैं । सल्यानमा अवैध हतियार (पेस्तोल) सहित प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । जिल्लाको कालिमाटी गाउँपालिका १ लक्ष्मीपुरस्थित वर्ष ४५ का दिपकबहादुर चलाउनेलाई प्रहरीले पक्राउ गरेको हो ।
चलाउनेले अवैध रुपमा हतियार लुकाइराखेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लुहाम र जिल्ला प्रहरी कार्यालयको टोलीले खोजतलास गर्दा घरदेखि केही पर पोखरा सामुदायिक वन सल्लेरीमा खाल्डो खनी प्लाष्टिकमा बेरेर लुकाइराखेको एक थान खिया लागेको पेस्तोल बरामद गरेको र उनलाई तत्काल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।
पेस्तोल द्वन्द्वकालमै लुकाइराखेको हुनसक्ने जनाइएकाे छ ।
पक्राउमा परेका चलाउनेलाई जिल्ला अदालत सल्यानबाट सात दिनको म्याद थप गरेर जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखिएको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।