काठमाडौं, ३० असोज — नेपालको प्रमुख महिला खेलकुद प्रतियोगितामध्ये एक एभरेस्ट वुमन्स भलिबल लिग (EWV) को आगामी तीन संस्करणका लागि विश्वप्रसिद्ध इनर्जी ड्रिङ्क ब्रान्ड ‘रेड बुल’ टाइटल स्पोन्सरका रूपमा जोडिएको छ। लिग आयोजकले बुधबार एक कार्यक्रमका बीच रेड बुलसँगको दीर्घकालीन सहकार्यबारे औपचारिक घोषणा गरेको हो।
यो साझेदारीले लिगको प्रतिस्पर्धात्मक स्तर र व्यावसायिकता अभिवृद्धि गर्ने, खेलाडीको क्षमता विकासमा सहयोग पुर्याउने तथा लिगको पहुँच र लोकप्रियता देशभर विस्तार गर्ने लक्ष्य राखेको छ। साथै, यस सहकार्यले युवा तथा किशोरीहरूलाई खेलकुदमा आकर्षित गर्दै नेपाली महिला भलिबलको दीर्घकालीन विकासका लागि बलियो आधार तयार पार्ने अपेक्षा गरिएको छ।
रेड बुल नेपाल (सरस बेभरेजेज) का प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले राष्ट्रिय खेल भलिबलको उत्थानमा सहकार्य गर्न पाउँदा गौरवान्वित भएको बताए। “खेलकुद र ऊर्जा रेड बुलको मूल मन्त्र हो। नेपालमा खेलकुदप्रतिको हाम्रो प्रतिबद्धता निरन्तर रहँदै आएको छ,” उनले भने, “यो केवल एउटा सिजनको साझेदारी नभई आगामी तीन सिजनसम्मको दीर्घकालीन सहकार्य हो, जसले नेपाली खेलकुद र यहाँका प्रतिभाप्रति हाम्रो अगाध विश्वासलाई देखाउँछ।” उनले लिग आयोजक ‘इन्फिनिटी ड्रिम्स प्राइभेट लिमिटेड’ लाई बधाई दिँदै सम्पूर्ण टोली तथा खेलाडीहरूलाई सफलताको शुभकामना समेत व्यक्त गरे।
त्यस्तै, एभरेस्ट वुमन्स भलिबल लिगकी प्रमुख कार्यकारी अधिकृत (CEO) स्नेभी चापागाईंले रेड बुलको अन्तर्राष्ट्रिय पहिचान र खेलकुद क्षेत्रको अनुभवले लिगको स्तर उकास्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। “रेड बुललाई टाइटल स्पोन्सरका रूपमा स्वागत गर्न पाउँदा हामी ज्यादै खुसी छौँ। यो साझेदारीले नेपाली महिला भलिबलको दीर्घकालीन विकासका लागि आवश्यक स्थायित्व र सहयोग प्रदान गर्नेछ,” उनले भनिन्।
यस सम्झौतापछि आयोजकले खेल अनुभवमा सुधार ल्याउने, खेलाडीलाई उपलब्ध गराइने सुविधा तथा सहयोग विस्तार गर्ने र दर्शकसँगको सम्बन्ध अझ सुदृढ बनाउने योजना बनाएको छ।














