काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्री छनोट गर्ने अधिकार पार्टी सभापतिसमेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई दिएको छ । लामिछानेले सोमबार पार्टीको संसदीय दलको भर्चुअल बैठक बोलाएर सरकारमा पठाउने मन्त्री छान्ने जिम्मेवारी लिएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल निवास बालुवाटारमा सोमबार साँझ बस्न लागेको सत्ता साझेदार दलहरूको बैठकले मन्त्रिपरिषद् विस्तारबारे टुंगो लगाउने बताइएको छ । प्रधानमन्त्री दाहालले बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोट पुगेर लामो कुराकानी गरेका थिए । साँझ सत्ता साझेदार दलहरूको बैठक बस्ने र मन्त्रीहरूको टुंगो लाग्ने भएपछि सभापति लामिछानेले संसदीय दलको बैठक बोलाएर उक्त निर्णय गराएका थिए ।
सत्ता गठबन्धनको तेस्रो ठूलो दल रास्वपाले उपप्रधानमन्त्री र गृहमन्त्री यसअघि नै लिइसकेको छ । रास्वपाले ४ मन्त्रालयमा दाबी गरेको छ । सरकारमा सहभागी हुन दलको संख्या बढेमा कम्तीमा ३ मन्त्रालय पाउनुपर्ने उसको दाबी छ । त्यस्तै उपसभामुख र एक राज्यमन्त्री पाउनुपर्ने पनि रास्वपाको दाबी छ । सांसद झाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय लगायतका मन्त्रालयमा दाबी प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीसँग राखेको जानकारी लामिछानेले संसदीय दलमा जानकारी गराएका थिए ।
संसदीय समिति सभापति र उपसभामुखमा पनि त्यसरी नै टुंगो लगाउने सहमति भएको रास्वपाका नेताहरूको भनाइ छ । प्रतिनिधिसभामा रास्वपाका २० सांसद छन् ।