काठमाडौं ।नक्कली भुटानी शरणार्थी ठगीमा संलग्नलाई ढाकछोप नगर्न बृहत् नागरिक आन्दोलन खबरदारीमा उत्रिएको छ । नागरिक अगुवाले बुधबार काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीले जघन्य अपराधमा संलग्नहरूमाथि कानुनी कारबाहीका लागि दबाब दिन विभिन्न प्लेकार्ड प्रदर्शन गरेका थिए । अमेरिका पठाइदिने भन्दै सयौँ नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने र मानव तस्करी गर्ने गिरोहको रूपमा अर्बौँ रुपैयाँ असुलीमा संलग्न पूर्वमन्त्री, सांसद, नेता र तिनका परिवारका सदस्य तथा कर्मचारीलाई संरक्षण गर्न दलका नेतृत्व नै लागेको भन्दै नागरिक आन्दोलनले आपत्ति जनाएको छ ।
नागरिक अगुवाहरूले ठगीमा संलग्नहरूलाई कानुनी कारबाहीमा ल्याउन सरकारले गरेको प्रयासलाई हिम्मतिलो काम भन्दै आभार व्यक्त गरेका छन् । सरकारले कारबाहीमा हातखुट्टा कमाए खबरदारी गर्ने चेतावनी पनि दिएका छन् ।
-नयाँ पत्रिकाबाट