काठमाडौं, भदौ १३ गते । अन्नपूर्ण स्पाइकर किंग्सले नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको लागि मंगोलियाका राष्ट्रिय टोलीका आउटसाइड हिटर उरानबायर मंखबायरलाई अनुबन्ध गरेको छ ।
नेपालमा पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिगमा प्रतिस्पर्धा गर्न अन्नपूर्ण स्पाइकर किंग्सले मंगोलियाका स्टार स्पाइकर उरानबायरलाई आफ्नो टोलीमा भित्र्याएको हो । उनको आगमनले टोलीको आक्रमणलाई थप बलियो, प्रभावकारी र सन्तुलित बनाउने विश्वास क्लबले लिएको छ ।
२१ वर्षीय उरानबायर मंगोलियाको राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य हुन् । हालै आफ्नै घरेलु कोर्टमा सम्पन्न एसियन इस्टर्न जोनल मेन्स भलिबल च्याम्पियनसिपमा मंगोलियालाई कांस्य पदक दिलाउन उनले महत्वपूर्ण योगदान दिएका थिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका उरानबायर बेस्ट सर्भर समेत घोषित भएका थिए ।
६ फिट ६ इन्च अग्ला उरानबायर शक्तिशाली स्पाइक र प्रभावकारी सर्भका लागि परिचित छन् । युवा उमेरमै राष्ट्रिय टोलीमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका उनले मंगोलियाका विभिन्न क्लबका साथै दक्षिण कोरियामा समेत भलिबल खेलिसकेका छन् ।
उरानबायरले मंगोलिया प्रिमियर लिग २०२५–२६ मा दार्खान मोगुल्सबाट उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी) को अवार्ड जितेका थिए । दार्खान मोगुल्सबाट खेलेका उनी सोही प्रतियोगितामा बेस्ट आउटसाइड हिटर समेत घोषित भएका थिए ।
उरानबायर अन्नपूर्ण स्पाइकर किंग्सले एनभीएलका लागि अनुबन्ध गरेको पहिलो विदेशी खेलाडी हुन् । टोलीले बाँकी विदेशी खेलाडीहरुको घोषणा पनि छिट्टै गर्ने जनाएको छ ।
गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै नेपाल भलिबल लिगमा प्रतिस्पर्धा गर्न लागेको अन्नपूर्ण स्पाइकर किंग्समा गण्डकीकै मिडल ब्लकर हिमाल सुनारी मार्की खेलाडीका रूपमा रहेका छन् । उनले केही समयमअघि काभा पुरुष भलिबल च्याम्पियनसिपमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । गण्डकी प्रदेशकै रमेश केसी मुख्य प्रशिक्षक तथा नेपाली पुरुष राष्ट्रिय टोलीका पूर्व खेलाडी एवं त्रिभुवन आर्मी क्लबका पूर्व खेलाडी तथा प्रशिक्षक नरेन्द्र गिरी सहायक प्रशिक्षकका रूपमा टोलीमा छन् ।
केही समयअघि काभा पुरुष भलिबल च्याम्पियनसिपमार्फत राष्ट्रिय टोलीमा डेब्यु गरेका अर्का खेलाडी राजेन्द्र धामी पनि अन्नपूर्ण स्पाइकर किंग्सको टोलीमा रहेका छन् ।
टोलीमा गण्डकी प्रदेशका अनुभवी तथा चर्चित खेलाडी रबी केसी, विश्वास अधिकारी, विवश आले र सुरेन्द्र केसी र उमेर समूहको राष्ट्रिय टोलीबाट खेलिसकेका लिबेरो जितबहादुर शार्की पनि टिममा छन् । यस्तै देव राना पनि यस टिममा छन् ।
युवा प्रतिभालाई अवसर दिने उद्देश्यअनुसार अन्नपूर्ण स्पाइकर किंग्सले पोखरामा आयोजना गरेको ट्यालेन्ट हन्टबाट किरण भण्डारीलाई छनोट गरेको छ । एनभीएलको प्रावधानअनुसार प्रत्येक फ्रेन्चाइज टोलीले ट्यालेन्ट हन्टमार्फत एक जना युवा खेलाडी छनोट गर्नुपर्ने व्यवस्था छ ।
स्वदेशी तथा विदेशी खेलाडीको सन्तुलित संयोजन, अनुभवी तथा युवा प्रतिभाको मिश्रण र बलियो प्रशिक्षक टोलीसहित अन्नपूर्ण स्पाइकर किंग्सले एनभीएलको पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि दाबेदारी प्रस्तुत गर्ने लक्ष्य राखेको छ ।
नेपाल भलिबल लिगको पहिलो संस्करण यही भदौ १९ गतेदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरको कभर्डहलमा आयोजना हुँदैछ ।














