काठमाडौं । काठमाडौं उपत्यकासहित कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ। गएराति लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा भएको छ।
बंगालको खाडीमा विकसित भएको मौसमी प्रणालीका कारण आज र भोलि देशका विभिन्न भागमा थप वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मौसमी प्रणालीको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षाको मात्रा बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
वर्षाका कारण सडक तथा यातायातमा असर पर्नुका साथै पहाडी क्षेत्रमा पहिरो र नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सम्बन्धित निकाय तथा सर्वसाधारणलाई सावधानी अपनाउन आवश्यक देखिएको छ।












