असार २९, काठमाडौँ । विभिन्न सञ्चारगृहको गेटमा अनधिकृत रूपमा कार पार्किङ गरिएको घटनाले पत्रकार तथा सञ्चारगृहको सुरक्षामा चुनौती थपिदिएको छ ।
सोमबार बिहान करिब ७ बजेतिर तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालय, बुद्धनगरस्थित अनलाइनखबर र हिमालय टेलिभिजनको कार्यालय अगाडि गेटमा गाडी राखेर चालक बेपत्ता भएका थिए ।
उक्त घटनापछि पत्रकार तथा सञ्चारमाध्यमलाई मनोवैज्ञानिक असुरक्षा सिर्जना गर्नुका साथै प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरिएको भन्दै सरोकारवाला निकायले विरोध जनाएका छन् ।
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मासहितका पदाधिकारीले प्रभावित सञ्चारगृहमा स्थलगत अनुगमन गर्नुका साथै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही र प्रेसको भूमिका स्वतन्त्र रूपमा निर्वाह गर्न दिन सम्बन्धित निकायसँग माग गरेको छ ।
यसैगरी नेपाली काङ्ग्रेसका सभापति गगन थापाको घर अगाडि समेत कार पार्क गरिएको थियो । अनधिकृत रूपमा कार पार्क गरेको घन्टौँपछि मात्र ती कार हटाइएको थियो । यस्तै यस घटनाको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विरोध गर्दै प्रेस स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताप्रति दृढता रहेको जनाएको छ ।
प्रेससम्बद्ध विभिन्न सङ्गठनले पनि यस घटनाको विरोध गरेका छन् ।














