काठमाडौं, माघ १०, उमा कुङफुका अन्तर्राष्ट्रिय पदक विजेता भूपेन्द्र गुरुङलाई न्युयोर्क स्टेट एसेम्बलीले सम्मान गरेको छ ।
खेलकुद क्षेत्रमा हासिल गरेको उपलब्धीका लागि सम्मान प्रदान गरिएको भूपेन्द्रले जनाएका छन् । मेम्बर अफ एसेम्ब्ली स्टिभन बी. रागाले भूपेन्द्रलाई सो सम्मान प्रदान गरे ।
राष्ट्रिय उमा कुङफु च्याम्पियनसिपका स्वर्ण विजेता भूपेन्द्रले अमेरिका, युके र जर्मनीमा भएका विभिन्न ७ अन्तर्राष्ट्रिय प्रतियोगितामा १३ स्वर्ण र २ रजत पदक जितेका छन् ।
उनले जर्मनीमा भएको १२ औं विश्व मार्सल आर्ट्स गेम्समा १ स्वर्ण, अमेरिकामा भएको ब्याटल अफ दि ड्रागन विश्व च्याम्पियनसिपमा २ स्वर्ण र युकेमा भएको उमा युरोपियन च्याम्पियनसिपमा ३ स्वर्ण जितेका थिए ।
त्यस्तै, युकेमा भएको आईएमएसी खुला प्रतियोगितामा २ स्वर्ण, अमेरिकामा भएको छैटौं बक्स काउन्टी मार्सल आर्ट्स च्याम्पियनसिपमा १ स्वर्ण र १ रजत, युकेमा भएको उमा युरोपियन च्याम्पियनसिपको अर्को संस्करणमा १ स्वर्ण तथा १४ औं विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा २ स्वर्ण र १ रजत जितेका छन् ।
नेपाल उमा कुङफु संघका उपाध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक भूपेन्द्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन् ।
‘खेलकुद मार्फत नेपाली समुदायप्रति सेवा र योगदानको कदरस्वरूप न्यूयोर्क राज्य सभाबाट यो सम्मान प्राप्त गर्न पाउँदा अत्यन्तै सम्मानित महसुस गरेको छु । यो सम्मानका लागि माननीय न्यूयोर्क राज्य सभा सदस्य स्टिभन रागाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’ सम्मानित भएपछि भूपेन्द्रले भने– ‘सिफारिस तथा सहयोगका लागि तामु परिवार न्यूयोर्क इन्क. लाई विशेष धन्यवाद । साथै सम्पूर्ण प्रक्रिया भरि निरन्तर साथ, मार्गदर्शन र प्राविधिक सहयोग प्रदान गर्नु भएकोमा अर्जुन गुरुङप्रति धेरै आभारी छु । मेरो परिवार, साथीहरू र सम्पूर्ण समुदायको माया, समर्थन र हौसलाका लागि म सधैं ऋणी छु । यो सम्मान मेरो लागि निकै अर्थपूर्ण छ ।’

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:













