१३ मंसिर, काठमाडौँ । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३० औं वार्षिक साधारण सभा आज काठमाडौं स्थित रानीमहल ब्यान्कयुतमा सफलतापूर्वक सम्पन्न भएको छ । मुलुकभरका ग्रील तथा स्टील व्यवसायीहरूको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रममा महासंघका अध्यक्ष ठूलोबाबु श्रेष्ठले सभापतित्व गर्नु भएको थियो।
कार्यक्रमको सुरुवातमा अध्यक्ष श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गर्दै हाल ग्रील तथा स्टील व्यवसाय सञ्चालनमा देखिएका ब्याजदरको अस्थिरता, सरकारी नीतिगत अनिश्चितता, गुणस्तरका चुनौती, करको दवाव तथा प्रतिस्पर्धात्मक बजारको अवस्थाबारे विस्तृत रूपमा प्रकाश पार्नुभयो । उहाँले व्यवसायलाई मर्यादित, पारदर्शी र व्यवस्थित प्रणालीमा अघि बढाउन महासंघ प्रतिबद्ध रहेको पनि बताउनुभयो । व्यवस्थापनका नवीन तरिकाहरू उद्योगमा लागू गर्नुपर्ने कुरा औंल्याउँदै व्यवसायीहरूले सामूहिक तालिम र ज्ञान–सम्प्रेषणमा जोड दिनुपर्छ भन्नुभयो । कार्यक्रममा अन्य उपस्थित व्यवसायी तथा प्रतिनिधिहरूले पनि आफ्ना अनुभव, समस्या र सुझावहरू राखेका थिए ।
साधारण सभामा भएका छलफल साधारण सभामा आर्थिक प्रतिवेदन, वार्षिक प्रगतिबारे समीक्षा, अद्यावधिक कार्ययोजना तथा आगामी वर्षको रणनीतिबारे विस्तृत छलफल भएको थियो । बैंक ब्याजदरको चाप, निर्माण सामग्री बजारको अस्थिरता, कुशल जनशक्तिको अभाव, आपूर्ति व्यवस्थाको चुनौती जस्ता मुद्दाहरूलाई महासंघले प्राथमिक रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्दै अध्यक्ष ठूलोबाबु श्रेष्ठले सबै व्यवसायी, अतिथिहरू तथा सहयोगी निकायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा महासंघलाई अझ सशक्त बनाउँदै व्यवसायीहरूको हितका निम्ति नीतिगत पैरवीलाई तीव्र बनाइने बताउनुभयो । यससँगै ग्रील तथा स्टील व्यवसायी महासंघको ३० औं वार्षिक साधारण सभा औपचारिक रूपमा सम्पन्न भएको घोषणा गरिएको थियो ।














