– खगेन्द्र फुयाँल
‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी आज नेपालमा १ सय १३ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ ।
विश्व महिला आन्दोलनले हालसम्म प्राप्तगरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ ।
नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरू गरिएको हो ।
नेपालमा पनि महिला अधिकार, न्याय, लैङ्गिक समानता, श्रम अधिकार र समान पारिश्रिमक लगायतका सवालमा दिवसको छेको पारेर सरकारी तथा गैरसरकारी संस्थाको पहलमा महिला अधिकार र समानताका लागि गोष्ठिी, प्रभातफेरी, अन्तरक्रिया लगायतका गतिविधि गर्ने गर्दछन् ।
हरेक बर्ष यस दिवसको छेको पारेर सप्ताहव्यापी कार्यक्रम तथा सभा गोष्ठिहरु आयोजना गरिने भएपनि महिला अधिकार र न्यायका क्षेत्रमा अपेक्षा अनुसारको सुधार हुनसकेको छैन ।
विभिन्न अध्ययन प्रतिवेदनहरुमा उल्लेखभएअनुसार महिलाहरुले न्यायको लडाइमा सुरुवाती चरणदेखि नै राज्यका निकायहरुबाटै सहयोग भन्दा बढि अपमानित र हैरानी खेप्नुपरेको छ ।
नेपालको संविधान २०७२ ले सबै महिललाई लैंगिक भेदभाव विना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक व्यवस्था गरेको छ । त्यस्तै न्याय सम्बन्धी हक, छुवाछुत र भेदभाव विरुद्धको हकमा महिला अधिकार र न्यायमा महिलालाई विशेष अधिकार प्रदान गरेको छ ।
नेपालको संविधानले राज्यका निकायहरुमा ३३ प्रतिशत महिला सहभागिताका लागि आरक्षणको व्यवस्था गरेको छ । त्यस्तै सार्वजनिक निकायमा महिलाका लागि विभिन्न छुट र सेवामा प्राथमिकताको व्यवस्था गरेको छ ।
कतिपय अवस्थामा जनचेतना र सूचनाको अभावमा महिलाहरू राज्यबाट व्यवस्था गरिएको अधिकार उपभोग गर्न बञ्चित छन् ।