काठमाडौँ, मङ्सिर ७ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २० औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा बृहत् रक्तदान तथा विविध संस्थागत सामाजिक उत्तरदायित्वमूलक (CSR) कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ ।
बैंकले मङ्सिर ७ गते काठमाडौँको बालुवाटारस्थित केन्द्रीय कार्यालय परिसरसहित सुनसरीको इटहरी, धनुषाको जनकपुर, चितवनको नारायणगढ, स्याङ्जाको वालिङ, कास्कीको पोखरा, म्याग्दीको बेनी, रूपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । ती स्थानहरूबाट कुल ७१३ युनिट रगत संकलन भएको बैंकले जनाएको छ । संकलित रगतले उपचारका क्रममा रगतको आवश्यकता परेका बिरामीहरूलाई प्रत्यक्ष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
उत्कृष्ट ९ शाखा सम्मानित वार्षिकोत्सवको अवसरमा आयोजित एक विशेष समारोहबीच बैंकले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने ९ वटा शाखा कार्यालयहरूलाई पुरस्कृत गरेको छ । उत्कृष्ट ठहरिएका शाखाका प्रमुखहरूलाई नगद पुरस्कार तथा ‘टोकन अफ एप्रिसिएसन’ प्रदान गरी सम्मान गरिएको बैंकले जानकारी दिएको छ ।
‘गरिमा रोड रेस २०८३’ मा १,४०० भन्दा बढीको सहभागिता यसअघि वार्षिकोत्सवकै अवसर पारेर बैंकले मङ्सिर ५ गते काठमाडौँमा ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने मूल नाराका साथ ‘गरिमा रोड रेस २०८३’ को तेस्रो संस्करण सम्पन्न गरेको थियो । उक्त दौड प्रतियोगितामा १,४०० भन्दा बढी धावकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
स्थापनाको दुई दशक पूरा गरेको अवसरमा बैंकले यस यात्रामा निरन्तर विश्वास, साथ र सहयोग प्रदान गर्ने सम्पूर्ण सेवाग्राही, सेयरधनी, नियामक निकाय, सञ्चारकर्मी तथा कर्मचारीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ ।














