काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) नियन्त्रणका लागि स्वास्थ्य, कृषि, पशुपन्छी तथा वातावरण क्षेत्रबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताएकी छन् ।
विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह (वर्ल्ड एएमआर अवेयरनेस विक–२०२६) को अवसरमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री मेहताले एएमआर कुनै एक क्षेत्रको मात्र समस्या नभई मानव, पशुपन्छी, वनस्पति, खाद्य प्रणाली र वातावरणसँग जोडिएको साझा चुनौती भएको उल्लेख गरिन् ।
एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोगले संक्रमणको उपचार कठिन बनाउनुका साथै उपचार खर्च बढाउने र समग्र स्वास्थ्य प्रणालीमा थप दबाब सिर्जना गर्ने उनले बताइन् । यसको नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्दै संघ, प्रदेश र स्थानीय तहसम्म समन्वित प्रयास आवश्यक रहेको उनको भनाइ थियो ।
मन्त्री मेहताले नेपालले सन् २०२४ मा संयुक्त राष्ट्रसंघको महासभाबाट पारित एएमआरसम्बन्धी घोषणापत्रप्रति प्रतिबद्धता जनाइसकेको र सन् २०२४–२०२८ का लागि एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणसम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा रहेको जानकारी दिइन् ।
सोही कार्यक्रममा ‘प्रोटोकल फर एन्टिमाइक्रोबियल युज पोइन्ट प्रिभ्यालेन्स सर्भे इन हस्पिटल्स अफ नेपाल, २०२६’ समेत सार्वजनिक गरिएको छ । अस्पतालहरूमा एन्टिमाइक्रोबियल औषधिको प्रयोगको अवस्था अध्ययन गर्न तयार गरिएको उक्त प्रोटोकलले औषधि प्रयोग तथा चिकित्सकीय सिफारिसको अभ्यासबारे व्यवस्थित तथ्यांक संकलन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसबाट अस्पतालमा एन्टिमाइक्रोबियल औषधिको विवेकपूर्ण प्रयोग प्रवर्द्धन गर्न तथा प्रमाणमा आधारित नीति निर्माणमा मद्दत पुग्ने विश्वास लिइएको छ ।
मन्त्री मेहताले एएमआर नियन्त्रणका लागि औषधिको प्रयोगमा नियामकीय निगरानी कडा बनाउनुका साथै खोप, संक्रमण रोकथाम तथा नियन्त्रण र सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छताका अभ्यासलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।
साथै, उनले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एन्टिमाइक्रोबियल औषधि विवेकपूर्ण रूपमा सिफारिस गर्न, नागरिकलाई स्वास्थ्यकर्मीको सल्लाहबिना त्यस्ता औषधि प्रयोग नगर्न तथा कृषि र पशु स्वास्थ्य क्षेत्रलाई जिम्मेवार प्रयोग र जैविक सुरक्षाका उपाय अवलम्बन गर्न आग्रह समेत गरेकी छन् ।














