बागलुङ । धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक पर्यटनको प्रचुर सम्भावना बोकेको बागलुङमा करिब १० करोड रुपैयाँको निजी लगानीमा सुविधासम्पन्न ‘होटल आँगन’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। बागलुङ नगरपालिका–२ मा उद्यमी दुर्गा कुँवरको लगानीमा निर्मित उक्त होटलको होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष टी.आर. भण्डारी ‘शंकर’ले एक समारोहका बीच उद्घाटन गर्नुभएको हो।

स्थानीय पर्यटन, आतिथ्य सेवा र व्यावसायिक गतिविधिलाई थप उचाइमा पुर्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको होटलमा १७ वटा आधुनिक एसी डिलक्स कोठा रहेका छन्। साथै, सभा, सम्मेलन, गोष्ठी तथा विभिन्न समारोह आयोजना गर्न सकिने तीनवटा सुविधासम्पन्न हलसमेत व्यवस्था गरिएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष भण्डारीले बागलुङजस्तो प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण जिल्लामा पर्यटन व्यवसायको व्यापक सम्भावना रहेको बताउनुभयो। पर्यटकीय गन्तव्यको प्रचारप्रसारसँगै गुणस्तरीय होटल, व्यवस्थित आतिथ्य सेवा, दक्ष जनशक्ति र लगानीमैत्री वातावरण निर्माण हुन सके जिल्लाको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने उहाँको भनाइ थियो।
“पर्यटन गन्तव्य भएर मात्र पुग्दैन, आउने पर्यटकलाई गुणस्तरीय सेवा, सुरक्षित बसाइ, स्थानीय स्वाद र आत्मीय आतिथ्यता प्रदान गर्न सक्नुपर्छ,” अध्यक्ष भण्डारीले भन्नुभयो, “निजी क्षेत्रको लगानी र स्थानीय समुदायको सहभागिताबाट मात्रै पर्यटनलाई दिगो आर्थिक गतिविधिका रूपमा विकास गर्न सकिन्छ।”
उहाँले कालिका भगवती मन्दिर, पञ्चकोट, बागलुङ बजार, गलकोट, ढोरपाटन र गाजा दहलगायतका सम्पदाहरूलाई एकीकृत पर्यटन प्याकेजका रूपमा प्रवर्द्धन गर्दै बागलुङलाई धार्मिक, सांस्कृतिक, साहसिक तथा सम्मेलन पर्यटनको प्रमुख गन्तव्य बनाउनुपर्नेमा जोड दिनुभयो।
व्यवसायलाई प्रविधिमैत्री बनाउँदै महासंघ सोही अवसरमा अध्यक्ष भण्डारीले महासंघले देशभरका होटल तथा पर्यटन व्यवसायलाई व्यवस्थित, मर्यादित र प्रतिस्पर्धी बनाउन विभिन्न संस्थागत तथा नीतिगत पहल अघि बढाएको जानकारी दिनुभयो। व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघले ‘डिजिटल लिटरेसी फर होटल इन्डस्ट्री’ अभियान सञ्चालन गरिरहेको उहाँले बताउनुभयो। यसअन्तर्गत व्यवसायीलाई डिजिटल मार्केटिङ, अनलाइन ट्राभल एजेन्सी (ओटिए), प्रोपर्टी म्यानेजमेन्ट सिस्टम (पिएमएस), गुगल रिभ्यु तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबारे सक्षम बनाइँदैछ।
त्यस्तै, नेपाल पर्यटन बोर्ड तथा तीनै तहका सरकारसँगको सहकार्यमा सीपमूलक तालिम, खाद्य सुरक्षा, स्वच्छ भान्छा र सेवा गुणस्तर अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकता दिइएको महासंघले जनाएको छ।
बागलुङ होटल व्यवसायी संघकी उपाध्यक्ष ललिता थापाको अध्यक्षता एवं सचिव कविता बस्नेतको सञ्चालनमा सम्पन्न उद्घाटन कार्यक्रममा महासंघका केन्द्रीय सदस्य कमल न्यौपाने, गण्डकी प्रदेश अध्यक्ष अर्जुन चोखाल, वरिष्ठ उपाध्यक्ष दुर्गाविलास भट्टराई, कोषाध्यक्ष गोपाल पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ बागलुङका अध्यक्ष राजनकुमार शाक्य, नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्यलगायत उद्योगी, व्यवसायी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
निजी क्षेत्रबाट भएको यो लगानीले स्थानीयस्तरमै स्तरीय आतिथ्य सेवा उपलब्ध गराउनुका साथै बागलुङलाई राष्ट्रिय पर्यटन बजारमा थप परिचित गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।














