काठमाडौं — आस्था, निष्ठा र सूर्य उपासनाको महान् पर्व ‘छठ’ अन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधनासहित विधिपूर्वक अर्घ्य दिइँदैछ।
चार दिनसम्म विधिपूर्वक मनाइने यस पर्वको मुख्य दिन आज नदी, तलाउ तथा पोखरीका किनारमाघाटहरू सजाइएको छ। बिاتैदेखि स्नान गरी निर्जल व्रत बसेका व्रतालुहरूले आज साँझ जलाशयको किनारमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने परम्परा रहेको छ।
चार दिनसम्मको विधि र स्वरूप
- चतुर्थी (नहाय–खाय): पर्वको पहिलो दिन व्रतालुहरूले स्नान गरी चोखो खाना खाई व्रतको संकल्प गर्छन्।
- पञ्चमी (खर्ना): दोस्रो दिन दिनभर उपवास बसेर साँझपख सख्खरको खीर (रसियाव) बनाएर देवतालाई चढाएपछि प्रसाद ग्रहण गरिन्छ।
- षष्ठी (मुख्य दिन): तेस्रो दिन आज साँझ नदी वा तलाउको किनारमा बनाएको घाटमा गई अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ।
- सप्तमी (पारणा): अन्तिम दिन भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर यो कठोर व्रत विधिवत् रूपमा सम्पन्न हुन्छ।
पौराणिक र ऐतिहासिक महत्त्व
महाभारतकालमा अज्ञातवास सफल होस् भनी द्रौपदी र पाँच पाण्डवहरूले सूर्यदेवको आराधना गरेको र सोही कालदेखि छठ पर्व मनाउने परम्परा सुरु भएको जनविश्वास छ। त्यस्तै, सूर्य पुराणअनुसार अत्रिमुनिकी पत्नी अनुसूयाले पहिलोपटक छठ व्रत गरी अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेकी थिइन्। साम्ब पुराणमा उल्लेख भए अनुसार भगवान् कृष्णका पुत्र साम्बले कुष्ठरोगबाट मुक्ति पाउन सूर्य आराधना गरेपछि स्वस्थ भएका थिए। यसैकारण छठ व्रत गर्नाले दुःख, दरिद्रता र रोगबाट मुक्ति पाइने जनविश्वास छ।
प्रकृति, विज्ञान र स्वास्थ्यको संगम
सूर्यबिना पृथ्वीमा जीवन असम्भव रहेको मान्यतामा आधारित यस पर्वले प्रकृति र मानव जीवनबीचको गहिरो सम्बन्धलाई उजागर गर्छ। सूर्यको किरणबाट रोग निवारण हुने र आरोग्य प्राप्त हुने विश्वासले यसलाई वैज्ञानिक दृष्टिले समेत निकै अर्थपूर्ण बनाएको छ।
यस पर्वमा प्रयोग गरिने ठकुवा, भुसवा, उखु, केराका घरी, कागती, अदुवा, नरिवल र मौसमी फलफूललगायतका सबै सामग्रीहरू पूर्ण रूपमा प्राकृतिक र अर्गानिक हुन्छन्। यसले स्थानीय कृषि उपज र प्रकृतूप्रतिको सम्मान झल्काउँछ भने समाजमा आपसी सद्भाव र समताको सन्देश दिन्छ।














