कात्तिक २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिका र इजरायलले गरिरहेको युद्ध प्रभावकारी रूपमा अन्त्य भएको संकेत गरेका छन्। वासिङ्टन डीसीमा कतारका प्रधानमन्त्रीसँग भेटवार्ता गरेपछि उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
सोमबार अप्रत्याशित रूपमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकाले इरानको सैन्य शक्ति ध्वस्त पारिसकेको आफ्नो दाबी दोहोर्याए। यद्यपि, उनका अभिव्यक्तिले मध्यपूर्वका सहयोगी राष्ट्रहरूबाट युद्ध अन्त्य गर्न दबाब आइरहेको संकेत गरेका छन्।
ट्रम्पले भने, “सैन्य दृष्टिले इरान प्रभावकारी रूपमा समाप्त भइसकेको छ। हामी अहिलेको अवस्थालाई यथावत् राखिरहेका छौँ। छिमेकी राष्ट्रहरूको आग्रहमा हामीले यस्तो गरिरहेका छौँ।”
उनको यो भनाइ अमेरिकी उपराष्ट्रपति जेडी भान्स र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीसँग भएको बन्दकक्षीय भेटवार्तापछि आएको हो।
कतारका प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत भेटवार्तामा भएको प्रगतिप्रति खुसी व्यक्त गरेका छन्।
उनले भनेका छन्, “हामीले क्षेत्रीय अवस्थाबारे र अमेरिका–इरान वार्तालाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल गर्यौँ। सम्झौतामा पुग्ने र क्षेत्रमा शान्ति स्थापना गर्ने विषयमा सकारात्मक छलफल भएकोमा आभारी छु।”
यद्यपि, ट्रम्पले अहिलेको अवस्था कायम राख्नुको अर्थ इरानी बन्दरगाहमाथि लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दीलाई निरन्तरता दिनु पनि रहेको बताएका छन्। साथै, स्थलमार्ग र क्यास्पियन सागर हुँदै हुने व्यापार रोक्ने उद्देश्यले हालै घोषणा गरिएको ‘टास्क फोर्स आइरन गेट’ पनि जारी रहने उनको भनाइ छ।
ट्रम्पले भने, “कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन, कुवेतलगायतका देशहरू अहिलेको अवस्था कायम रहोस् भन्ने चाहन्छन्। अर्को शब्दमा भन्नुपर्दा, हाम्रो देशको इतिहासकै सम्भवतः विश्वकै इतिहासको सबैभन्दा ठूलो नौसैनिक नाकाबन्दी जारी रहोस् भन्ने उनीहरूको चाहना छ।”
पत्रकार सम्मेलनमा ट्रम्पले आवश्यक परे अमेरिकाले पुनः सैन्य कारबाही सुरु गर्न सक्ने संकेतसमेत गरेका छन्।













