काठमाडौँ — आश्विन १४, अकामा होटल लिमिटेडले पाँचौं वार्षिक साधारण सभा कम्पनी रजिष्टर्ड कार्यालय,धुम्बाराही काठमाडौंमा आफ्ना शेयरधनीहरुको उपस्थितिमा भव्य रुपमा सम्पन्न गरेको छ । काठमाडौँको धुम्बाराहीस्थित पाँचतारे ‘अकामा होटल लिमिटेड’ ले आफ्नो आर्थिक सुदृढीकरण, व्यवसाय विस्तार र आगामी रणनीतिक योजनाहरू सार्वजनिक गर्दै प्रगतिशील भविष्यको स्पष्ट खाका पेस गरेको छ। विगतका विषम परिस्थिति तथा महामारी जस्ता चुनौतीहरूका बाबजुद कम्पनीले आफ्ना व्यावसायिक गतिविधिहरूलाई तीव्रता दिँदै व्यापक सुधारको दिशामा कदम चालेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

अकामा होटलले समीक्षा अवधिमा बिक्री आम्दानी बढाउन सफल भएको छ। गत आर्थिक वर्षको तुलनामा होटलको कुल व्यापार करिब १.९५ प्रतिशतले बढेर २२ करोड ४४ लाख ७९,७०० रुपैयाँ पुगेको छ।
कम्पनीले प्रशासनिक र अन्य खर्चहरूमा भारी कटौती गर्दै दक्षता प्रदर्शन गरेको छ। कुल खर्च २५.४४ प्रतिशतले घटाउन सफल भएकाले होटलको खुद नोक्सानीमा उल्लेख्य कमी आएको छ। अघिल्लो वर्ष ७ करोड ५ लाख ७३,८२७ रुपैयाँ रहेको खुद नोक्सानी ३२.३५ प्रतिशतले घटेर ४ करोड ७९ लाख ४८,८४२ रुपैयाँमा सीमित भएको छ, जसले होटल निकट भविष्यमै मुनाफामा जाने बलियो आधार तयार गरेको छ।
होटलको व्यापार प्रवर्द्धन तथा व्यावसायिक क्षेत्र विस्तारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रसिद्ध ‘Wyndham Hotel Asia Pacific Co. Ltd. (Ramada)’ सँग फ्रान्चाइज (Franchise) सम्झौता गरी ‘Ramada’ ब्रान्ड नामबाट होटलको व्यवसाय सञ्चालन भइरहेको छ। यस सहकार्यले अन्तर्राष्ट्रिय तथा आन्तरिक पर्यटक आकर्षित गर्न ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ।
कम्पनीले आफ्नो पुँजी संरचना सुदृढ बनाउन र सर्वसाधारणलाई अपनत्व प्रदान गर्न प्राथमिक सेयर निष्कासन (IPO) को प्रक्रिया अगाडि बढाएको छ। संस्थापक समूहको सेयरबापतको शतप्रतिशत रकम चुक्ता भइसकेको र आवश्यक विवरण परिमार्जन गरी सेयर निष्कासन स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्ड (SEBON) मा पेस गरिसकिएको होटलले जनाएको छ।
होटलको व्यवस्थापनलाई पारदर्शी र सुव्यवस्थित बनाउन आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गरिएको छ। हाल होटलमा १०४ जना कर्मचारीहरू कार्यरत रहेका छन्, जसले रोजगारी सिर्जना र पर्यटन क्षेत्रको प्रवर्द्धनमा प्रत्यक्ष योगदान पुर्याइरहेका छन्।
विगतका प्रतिकूल परिस्थितिहरूलाई चिर्दै अकामा होटलले अन्तर्राष्ट्रिय ब्रान्डिङ, क्यासिनो सञ्चालन र आईपीओ निष्कासन जस्ता ठोस योजनाहरूमार्फत आगामी दिनहरूमा होटल उद्योगमै अग्रणी स्थान हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।















